२३ जेठ २०८२ शुक्रबार | 06 Jun 2025 Fri

‘धिमे बाजा’को संरक्षणमा जोडिँदै नेवार समुदाय



  • आफ्नै खबर
  • १८ जेठ २०८२ आईतबार (५ दिन अघि)
  • पाठक संख्या ६६
  • भोजपुर/  भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा नेवाः मिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एकमहिने धिमे बाजा प्रशिक्षण सम्पन्न गरिएको छ ।

    नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताउनुभयो । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उहाँको भनाइ छ ।

    धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, वेशभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि सीप र कला हस्तान्तरण गर्न यस्ता प्रशिक्षण जिल्ला तहमा महत्त्वपूर्ण हुनेछन् ।’ 

    युवा पुस्ताले चासो नदिए संस्कृति नै हराउने जोखिम बढेको छ । विगतदेखिका कला, संस्कृति र परम्परा जोगाउन आफूले युवाहरूलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष शाक्यले बताउनुभयो ।

    पन्ध्र जनाको सहभागितामा आयोजित प्रशिक्षणले धिमे बाजाको ज्ञानसहित आफूहरूलाई सो बजाउने चरणबद्ध तरिकासमेत आएको प्रशिक्षणका सहभागी निलेस प्रधानले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मलाई धिमे बाजाका बारेमा ज्ञान थिएन, एक महिनाको तालिम लिएपछि अब बजाउन पनि आउँछ ।’

    धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ ।

    पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो ।

    नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ति भएकाले सबै भाषा, धर्म र संस्कृतिको संवद्र्धन जरुरी रहेको नगरप्रमुख आलेको धारणा छ । प्रशिक्षणका क्रममा आर्जन गरेका सीप व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै नगरप्रमुख आलेले धिमे बाजा केवल बाजामात्र नभएर मौलिक संस्कृति र पहिचान भएको बताउनुभयो । 

    -रासस