१४ असार २०८२ शनिबार | 28 Jun 2025 Sat

मुक्तिनाथधाममा पदमार्ग निर्माण



  • आफ्नै खबर
  • १८ जेठ २०८२ आईतबार (४ हप्ता अघि)
  • पाठक संख्या ६९
  • मुस्ताङ/  मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटो निर्माण सम्पन्न हुन लागेको हो । 

    आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो । 

    यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा एक करोड रुपैयाँ र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्नेगरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुङ्गा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाइ निर्माण सेवा काठमाडौँले ठेक्का सम्झौता गरेको थियो । 

    मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा दुई सय मिटर दूरीमा छप्पनी ढुङ्गा बिछ्याउने काम भइरहेको इन्जिनियर भण्डारीले उल्लेख गर्नुभयो । 

    भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित आठ मिटर चौडा पदमार्ग निर्माण भइरहेको इन्जिनियर भण्डारीले बताउनुभयो । 

    रानीपौवा बजार क्षेत्रमा चार मिटर चौडामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग स्तरोन्नति गरिने उहाँको भनाइ छ । रानीपौवामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग निर्माणको पछिल्लो भौतिक प्रगति ४५ प्रतिशत पुगेको उहाँले जनाउनुभयो ।

    यसैगरी मुक्तिनाथधामको मुख्य प्रवेशद्वारबाट ज्वालामाईसम्म रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माणको जिम्मा पिके कन्ट्रक्सनले लिएको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । 

    त्यहाँ तीन सय ५० मिटर दूरीमा २.१ मिटर चौडा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ । ज्वालामाईसम्मको रेलिङसहितको सिँढी बाटो पदमार्गको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ ।

    –रासस