स्याङ्जा/ भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
भीरकोट–९ का वडा सदस्यसमेत रहनुभएका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाउनुभएको स्याउ यसवर्ष लटरम्म फलेको छ ।
‘दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ’, ललितले भन्नुभयो, ‘फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।’
गत वर्ष ५–७ दाना मात्र फलेको उहाँले बताउनुभयो । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुद्री सतहदेखि झण्डै एक हजार पाँच सय मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।
ललितले भन्नुभयो, ‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ ।’ स्याउको व्यवसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उहाँले बताउनुभयो ।
चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ ।’
–रासस
प्रतिक्रिया दिनुहोस