२२ जेठ २०८२ बिहिबार | 05 Jun 2025 Thu

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध



  • आफ्नै खबर
  • २० जेठ २०८२ मंगलबार (२ दिन अघि)
  • पाठक संख्या ७४
  • बागलुङ/  ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । 

    भरतपुर पुगेका ताराखोलाका जनप्रतिनिधि र भरतपुरका जनप्रतिनिधिबीच भगिनी सम्बन्धको प्रस्तावपत्रमा सोमबार हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर विक र भरतपुरका प्रमुख रेणु दाहालले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्नेगरी भगिनी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

    प्रस्तावपत्रमा भरतपुरका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा ताराखोलाका तर्फबाट अध्यक्ष विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    उक्त गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङको पर्यावरण पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र र धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भरतपुरबीच भगिनी सम्बन्ध कायम गरिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । 

    घुम्टे, गाईघाट झरना, डुडेलेक तथा धार्मिक क्षेत्र तिनचुले, बराह मन्दिर, घुम्टे सिद्ध थान पर्यटकीय क्षेत्र रहेको ताराखोला स्थानीय उत्पादन र संस्कृतिलाई महानगरसामु चिनाउन भगिनी सम्बन्ध कायम गरिएको विश्वकर्माले बताउनुभयो । 

    उक्त गाउँपालिका र भरतपुर महानगरबीच स्थानीय विकासका लागि समानता तथा विविधतालाई एकअर्काले नियमित रुपमा सिकाइका र अवसरका रुपमा लिने गरी समझदारी गरिएको हो ।

    शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा वार्षिक सहयोगलगायतका अन्य विविध असल अभ्यास एवं अनुभव आदानप्रदान गर्ने व्यवस्थाअनुसार भरतपुर महानगर र गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

    –रासस