२२ जेठ २०८२ बिहिबार | 05 Jun 2025 Thu

पोषण प्याकेजले बढायो नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्या



  • आफ्नै खबर
  • २० जेठ २०८२ मंगलबार (२ दिन अघि)
  • पाठक संख्या ५८
  • सिराहा/  लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको मुख्य जिम्मेवारी हो ।

    पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो सङ्ख्यामा वृद्धि भएको उहाँको अनुभव छ ।

    ‘पहिले गर्भवतीले स्वास्थ्य संस्थामा गर्भावस्था सम्बन्धमा चेकजाँच गराउने चलन थिएन । अस्पतालको सहज पहुँच पनि थिएन र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि थिएन’, उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको विकास र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन पछि उनीहरु नियमित परीक्षण गराउन थालेका हुन् ।’

    पछिल्लो समय दतिल तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको सङ्ख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम हो । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ । 

    लहान नगरपालिकाले नगरक्षेत्रभित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

    यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज लहान–२० का ४८ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । 

    नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, ‘मापदण्डअनुसार गर्भजाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

    नगरप्रमुख चौधरीले महिलामा पोषणको कमी नहुने र मापदण्डअनुसार नियमित परीक्षण कार्यक्रम प्रभावकारी हुने भएकाले यस कार्यक्रमलाई आफू नगरप्रमुख भएदेखि सञ्चालन गरेको बताउनुभयो । 

    उहाँले आगामी दिनमा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  वडा नं १६ को तरेगणा र वडा नं १९ को सोनवतीमा ‘बर्थिङ सेन्टर’ निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

    –रासस

        सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेशप्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारकालागि प्रभावकारी भएको बताउनुभयो । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मोटर, सोयाविनलगायत खाद्यान्न सामग्री छन् ।