२३ जेठ २०८२ शुक्रबार | 06 Jun 2025 Fri

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’



  • डम्मर बुढामगर
  • २२ जेठ २०८२ बिहिबार (१ दिन अघि)
  • पाठक संख्या ८२
  • बागलुङ/  पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन् । 

    ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जंघार पार गर्दै जलजला पुग्न सकिन्छ । शान्त वातावरण र आँखै अगाडि देखिने हिमश्रृङ्खला हेर्नका लागि पर्यटक जाने गर्छन् । ढोरपाटन उपत्यकादेखि २२ किलोमिटर पूर्वमा रहेको जलजलामा बाह्रै महिना पर्यटक पुग्ने गरेका हुन् । 

    ढोरबराह मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीसमेत यहाँ पुग्ने गरेका छन् । बर्खामा हरियाली र हिउँदमा हिउँसँग रमाउने पर्यटकका लागि जलजला उत्कृष्ट गन्तव्य बनेको छ । 

    पहिले असोजदेखि आन्तरिकसहित बाह्य पर्यटक पुग्ने गरे पनि पछिल्लो समय बाह्रै महिना यहाँ आउने गरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । ढोरपाटन उपत्यकादेखि १८ किलोमिटर सवारी साधन र चार किलोमिटर पैदल यात्रामा जलजला पुग्न सकिने उहाँको भनाइ छ । 

    केही वर्ष अगाडिसम्म ओझेलमा रहेको जलजला प्रचारप्रसार र सडक सञ्जालले जोडिन थालेपछि पर्यटकको आकर्षण बढेको पुनले बताउनुभयो । यो याममा दैनिक जलजला जाने पर्यटकको सङ्ख्या बढिरहेको उहाँको भनाइ छ । मासिक रुपमा तीन हजारको हाराहारीमा पर्यटक पुग्ने अध्यक्ष पुन बताउनुहुन्छ ।

    ‘जलजलाको प्रचारप्रसार बढी भएर होला, अहिले टाढा–टाढाबाट पर्यटक आउन थालेका छन् । ढोरपाटन उपत्यकाबाट बाटो सहज बनेको छ । शान्त वातावरण, अनगिन्ती हिमशृङ्खला र प्रकृतिसँग रमाउन चाहनेहरु जलजला आउँछन्’, अध्यक्ष पुनले भन्नुभयो, ‘पहिले फाट्टफुट्ट मात्रै पर्यटक जलजला पुग्थे । तर हिजोआज धेरै जान थालेका छन् । ढोरपाटनबाट बिहान गएर साँझ फर्किन सकिन्छ । यहाँबाट देखिने हिमशृङ्खलाले धेरैलाई आकर्षित गर्छ ।’

    यति बेला गर्मी बढेको हुँदा तराईबाट पनि घुम्न आउने बढी छन् । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरीलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँमा उभिएर नजिकै देख्न सकिने पुन बताउनुहुन्छ । 

    पर्यटकको सङ्ख्या बढेपछि होटेल व्यवसायसमेत फस्टाउन थालेको उहाँको भनाइ छ । ढोरपाटन आउने पर्यटकलाई अघिल्लो दिन नै होटेलका लागि सम्पर्क गरेर आउन अध्यक्ष पुनले आग्रह गर्नुभयो ।

    भैरहवाबाट ढोरपाटन आउनुभएका सुदीप सुवेदीले जलजला निकै सुन्दर रहेको बताउनुभयो । तराईमा अत्याधिक गर्मी हुँदा एक साताका लागि ढोरपाटन घुम्न आएको सुनाउँदै जलजला पुग्दा शीतलता प्राप्त भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको भन्दै जलजलासम्म पुग्ने सडकलाई सहज बनाउन सके पर्यटक बढ्ने सुवेदीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘तराईमा निकै गर्मी छ । केही दिन भए पनि शीतलता लिनका लागि ढोरपाटन जाउँ भनेर आएका थियौँ, यहाँ आएपछि होटल व्यवसायी दाईहरुले जलजलासम्म पुग्नु भन्नुभयो । सुरुमा त खास्सै जान मन थिएन, पछि साथीहरुसँग त्यहाँ पुग्दा निकै मन फुरुङ्ग भयो । अहिलेसम्म मेरो जीवनकालमा यति धेरै हिमाल एकै ठाउँबाट देखेको थिएन । यो ठाउँ साँच्चिकै स्वर्गभन्दा कम छैन ।’

    पोखराबाट घुम्न आउनुभएका नितेश तामाङले जलजला क्षेत्र निकै मनमोहक रहेको बताउनुभयो । बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्मको सडकमा जोखिमपूर्ण यात्रा गर्दा डर लागे पनि जलजला पुग्दा छुट्टै आनन्द आउने उहाँको भनाइ छ । 

    राज्यले सडक र पदमार्गलाई व्यवस्थित गर्न सके बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने तामाङ बताउनुहुन्छ । ढोरपाटनसम्म पुग्ने सडक मात्रै व्यवस्थित हुन सके जलजलामा पर्यटकको भिडभाड बढ्ने उहाँको भनाइ छ ।

    पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक जलजलासँगै बर्खामा बुकीपाटन पनि पुग्ने गरेका छन् । उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रमा पुग्न सकिने बुकीपाटन निकै मनमोहक छ । 
    साँघुरो र अप्ठ्यारो पदमार्ग हुँदै पर्यटक बुकीपाटन पुग्ने गरेका छन् । यस वर्ष उद्योग तथा पर्यटन कार्यालय बागलुङले पाखाथरदेखि गर्पाछेडासम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिरहेको छ ।

    गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँमा पदमार्ग निर्माण भइरहेको उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । पर्यटकलाई बुकीपाटन पुग्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न थालिएको उहाँको भनाइ छ ।

    –रासस