२३ जेठ २०८२ शुक्रबार | 06 Jun 2025 Fri

आहा ! अङ्गुरखेती

गर्नेलाई जताततै नगर्नेलाई कतै न कतै



  • आफ्नै खबर
  • २२ जेठ २०८२ बिहिबार (१ दिन अघि)
  • पाठक संख्या ८१
  • तनहुँ/  घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । 

    कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा सात सय देखि एक हजार रुपैयाँसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपेका थियौँ । धादिङमा ३८ करोड ५० लाख रुपैयाँ र तनहुँमा डेढ करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ लगानी गरिसकेको छु ।’ 

    यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रका व्यापारी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘पहिलो वर्ष १८ लाख रुपैयाँको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ ।’  

    कार्कीका अनुसार फार्ममा हाल २०/२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम तीन सय ५० रुपैयाँ र वाइन बनाउने प्रतिकिलो दुई सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०/१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । 

    फार्ममा रहेका २०/२२ प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिनुभयो । 

    सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति सात सय ५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल एक हजार दुई सय रुपैयाँमा बिक्रीका लागि बजारमा ल्याइएको व्यवसायी कार्कीले बताउनुभयो । 

    धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि एक सय ५० रोपनीमा व्यावसायिक अङ्गुरखेती गर्दै आएको उहाँले बताउनुभयो । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानका लागि अङ्गुरखेती गरिएको कार्कीको भनाइ छ ।   

    अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत÷वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । 

    मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताउनुभयो । 

    विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उहाँले सुनाउनुभयो । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट ५५ लाख रुपैयाँ बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ ।’

    –रासस