मानवरुपि चोला सधैं सरल रेखामा हिँड्दैन, कुनै न कुनै विन्दुमा वक्ररेखाको सामना गर्नैपर्छ । नेपाली साहित्य तथा पत्रकारिताका स्थापित साधक विजय चालिसेले यसरी नै आफ्नो एक मात्र आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’मा आफ्नो सात दशकभन्दा बढी लामो जीवनको उतारचढावको फेहरिस्त उल्लेख गर्नुभएको छ ।
कहरको त्यो आधा दशक
२०७८ मा प्रकाशित यस आत्मसंस्मरणमा चालिसेले आफ्नो जीवनकालको सर्वाधिक कहरका वर्ष २०७२ देखि २०७७ साल रहेको बताउनुभएको छ । यस अवधिमा महाभूकम्पले उहाँलाई ‘शरणार्थी’ बनायो । केही वर्षपछि क्यान्सरबाट आक्रान्त जीवन सङ्गिनी लक्ष्मीको साथ छुट्यो । कोरोना कहरले पनि उहाँलाई नराम्रोसँग अत्यायो ।
यसरी कष्टसँग उक्त पाँच वर्षको अवधि बिताउनुभएका चालिसको इहलिला पनि ठीक पाँच वर्षपछि नै अन्त्य भएको छ । केही महिनाअघि देखिएको गर्धनको हड्डी खिइने समस्यासँगै शरीरमा देखिएका अन्य दुर्बलता क्रमशः क्यान्सरमा परिणत भएपछि २०८२ जेठ १६ गते बिहान १०ः३० आफ्नै परिवारका आत्मीयजनबिच चालिसेले देहत्याग गर्नुभयो ।
चालिसेले तीन दशकभन्दा बढी सक्रिय पत्रकारिता गर्नुभयो । गोरखापत्र संस्थानमा उपसम्पादकका रुपमा प्रवेश गर्नुभएका चालिसे गोरखापत्र दैनिकको कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक समेत हुनुभयो । वर्षौंसम्म आमसञ्चार तथा पत्रकारिताका कुशल अध्यापक रहनुभयो ।
उपन्यास, कथा सङ्ग्रह, यात्रा निबन्ध सबैमा कलम चलाउनुभएका चालिसे बालसाहित्यमा अब्बल मानिनुहुन्छ । उहाँका अधिकांश कृतिहरू बाल साहित्यमा नै आधारित छन् ।
समाजसेवामा निरन्तर तन, मन र धन दिइनै रहनुभयो । तर पहिचानको अघिल्लो पङ्तिमा चालिसे आफूलाई साहित्यकार नै भन्न रुचाउनुहुन्थ्यो ।
साहित्यप्रतिको अनुराग
उहाँले २०७८ सालमा एक टेलिभिजनमा अन्तरवार्ता दिँदै हाकाहाकी भन्नुभएको थियो, ‘मैले पत्रकारितालाई भन्दा साहित्यलाई जहिले पनि आफ्नो क्षेत्र ठानेँ । त्यसको मूल कारण के हो भने साहित्यले मलाई जति सन्तुष्टि दिन्थ्यो, पत्रकारिताले दिन सकेन । त्यसैले साहित्य नै मेरो मुख्य क्षेत्र हो ।’
बीसको दशकदेखि नै लेखनमा सक्रिय चालिसेका पाँच दर्जन कृति प्रकाशित छन् । उपन्यास, कथा सङ्ग्रह, यात्रा निबन्ध सबैमा कलम चलाउनुभएका चालिसे बालसाहित्यमा अब्बल मानिनुहुन्छ । उहाँका अधिकांश कृतिहरू बाल साहित्यमा नै आधारित छन् ।
‘स्क्रिनको पढाइ भन्दा परम्परागत पढाइ नै उचित, यसो गर्नाले तीन कुरा एकै साथ सक्रिय बन्दछन्,.मस्तिष्क, आँखा र बोध शक्ति ।’
आमसञ्चार तथा पत्रकारिताका पुस्तकहरूको चरम अभाव रहेको चालिस तथा पचासको दशकमा पत्रकार बन्नेहरूका लागि समाचार लेखन तथा सम्पादन-२०४५, आमसञ्चारका विविध पक्ष-२०५७ जस्ता प्रेरणादायी पुस्तकहरू लेख्ने श्रेय पनि चालिसेलाई नै जान्छ ।
विविध क्षेत्रमा कलम चलाएका कारण नै आफू कतै ओझेलमा परेको र त्यति धेरै कृतिहरू सार्वजनिक हुँदा समेत कुनै एक ‘मास्टरपिस’ नभएको हो कि भन्ने ‘लघुताभास’ भने उहाँमा थियो । त्यसैले होला उहाँ आफ्नो समीपमा आउने स्रष्टाहरूले कुनै एक निश्चित विधामा मात्र निरन्तर कलम चलाउन सुझाउनुहुन्थ्यो ।
नेपाली साहित्यका यशस्वी साधक रमेश विकलको ज्येष्ठ सुपुत्र हुन पाएको र पिताजीकै प्रेरणामा साहित्यमा कलम चलाउन पाउँदा उहाँलाई निकै गर्व थियो । तर उहाँमा केही असन्तुष्टि पनि देखिन्थ्यो ।
२०७६ सालमा एक टेलिभिजनको अन्तरवार्तामा भन्नुभएको थियो, ‘ठूलो साहित्यकारको सन्तान हुनुमा फाइदा, बेफाइदा दुवै हुने रहेछ । ठूलो रुखमुनि सेप लाग्छ भने झैं अब मैले जे जति लेखें पनि रमेश विकलको छोराको रुपमा मात्रै धरैले देख्छन् । त्यो किनभने मेरो भन्दा विराट व्यक्तित्व त उहाँकै भयो, ठूलो नाउँले अलि सानो नाउँलाई ओझेलमा पार्दोरहेछ ।’
विकलका अन्तरङ्ग मित्र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे नेपाली साहित्यका विविध क्षेत्रमा कलम चलाएका विजय स्वयं नै सशक्त स्रष्टा भएको बताउनुहुन्छ । २०८१ मा प्रकाशित द्रष्टा दृष्टिमा चालिसेले भन्नुभएको छ, ‘साहित्य कुनै यान्त्रिक र सूत्रबद्ध लेखन होइन । यो कुनै सीमा र मान्यतामा बाँधिदैन ।’
उहाँले थप्नुभएको छ, ‘साहित्य मानवीय यथार्थ, मनोविज्ञान, समवेदना, सहानुभूति तथा सामाजिक यथार्थको संवाहक भने हुनुपर्छ अर्थात् युगलाई समात्न सक्नुपर्दछ । साहित्य जीवनपरक हुनुका साथै कलात्मकसमेत बन्न सकोस् । साहित्य मान्छेको लागि हुनुपर्छ । मानवीय सभ्यता, स्वसंस्कृति र स्वाभिमानका संवर्द्धन र उन्नयनमा सहयोगी हुनुका साथै मानवीय चेतनाको विकासमा सहयोगी हुनुपर्छ ।’
साहित्यमा समाहित हुनका लागि विविध क्षेत्रको निरन्तर अध्ययन अपरिहार्य रहेको उहाँको बुझाइ थियो । नयाँ पुस्ताको चेत खुल्ने गरी उहाँले एक अन्तरवार्तामा भन्नुभएको थियो, ‘स्क्रिनको पढाइ भन्दा परम्परागत पढाइ नै उचित, यसो गर्नाले तीन कुरा एकै साथ सक्रिय बन्दछन्, मस्तिष्क, आँखा र बोध शक्ति ।’
रमेश विकलको परिवार चौथो पुस्तासम्म साहित्यमा सक्रिय रहेकोमा चालिसेलाई गर्वबोध थियो । पिता विकलका अलावा आफूसँगै भाइ महेन्द्र, कान्छो छोरा आलोक र नातिनी आयुषा समेतका रचनाहरू प्रकाशित हुनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यका लागि नै दुर्लभ घटना भएको उहाँ जिकिर गर्नुहुन्थ्यो ।
कथा, उपन्यास, नियात्रा आदिमा प्रत्यक्षतः समाजमा देखिने वा यथार्थ रुपमा प्रस्तुत हुने गरेका विकृत, विसङ्गत र सङ्गत अवस्थालाई सूत्रात्मक एवं व्याख्यात्मक रुपमा प्रस्तुत गर्नुृ चालिसेको विशेषता हो ।
विजय चालिसेको जन्म वि.सं २००८ असार २२ गते शुक्रबारका दिन काठमाडौंको जोरपाटी, आरुबारीमा भएको थियो । उहाँका पिता रमेश विकलको वास्तविक नाम रामेश्वर शर्मा चालिसे तथा माताको नाम सुशीला चालिसे हो ।
सिर्जनाका ती चाङहरु
नेपालीमा एम.ए उत्तीर्ण चालिसेले बेलायतबाट डिप्लोमा इन एडभान्स जर्नालिजमको कोर्स पूरा गर्नुभएको थियो । १२-१३ वर्षको कलिलो उमेरबाटै साहित्य लेखनमा लाग्नुभएका चालिसेका फुटकर कविताहरू चावहिलको पशुपति मित्र माविले गरेको विद्यालय नामक पत्रिकामा छापिएको अभिलेख पाइन्छ ।
उहाँको पहिलो प्रकाशित बालरचना ‘हातिम’ बालकथा (बालक २०२७ कात्तिक) हो । पहिलो प्रकाशित अनुवाद कथा ‘दुई शत्रु’ (मधुपर्क, २०२७ असोज) रहेको छ । प्रकाशित तीन उपन्यासमा होटल राँकीमा हत्या (२०३१), अनि कुइरो फाट्छ (२०३६) र युगसन्धि (२०८१) रहेका छन् ।
बाल साहित्यतर्फ दयालु राजकुमार (चित्रकथा-२०४३), सेवाका प्रतिमूर्ति : दयावीर सिंह कंसाकार-२०४२), अनौठो भूमिका एलिस (२०५०), हाम्रो वरिपरिको विज्ञान (२०५२), बादलका बुट्टाहरू (२०५२), हराएको मूर्ति (२०५६), अमूल्य उपहार (२०५८), किसानबाट शिक्षा (२०५८), चटकीको बाँदर (२०६०), मुस्ताङको गुफा (२०६१), काका काग (२०६८) लगायत उनका चर्चित कृतिहरू हुन् ।
त्रिविध (२०४४), प्रयोग÷प्रत्यारोपण (२०४७), भग्न आस्थाको खण्डहर (२०५६), अग्निचक्र (२०६२), विज्ञानको कैदी (२०७१), खोसिएको सपना (२०७१), अभिशप्त रात (२०८०) लगायतका उनका कथासङ्ग्रह प्रकाशित छन् ।
यात्रा निबन्धतर्फ उनका डोटेली लोक संस्कृति र साहित्य (२०३९), अप्रिलको बेलायत (२०४५), ओह....नेपारु (२०७३), मरुभूमिको फूल (२०७७) लगायतका कृति पाठक माझ छरिएका छन् ।
सम्पादनमा समेत उत्तिकै दखल राख्ने चालिसेले सम्झना (भैरवस्मृति अंक-२०३७), सांग्रिला (त्रैमासिक प्रकाशन २०३९-२०४६), मानवअधिकार पुस्तिका (२०४८), काव्य महोत्सव स्मारिका (२०७९) सहितका विभिन्न पुस्तक तथा पत्रिकारहरूको सम्पादन गर्नुभएको छ ।
समालोचक ठाकुर शर्मा भण्डारीका अनुसार कथा, उपन्यास, नियात्रा आदिमा प्रत्यक्षतः समाजमा देखिने वा यथार्थ रुपमा प्रस्तुत हुने गरेका विकृत, विसङ्गत र सङ्गत अवस्थालाई सूत्रात्मक एवं व्याख्यात्मक रुपमा प्रस्तुत गर्नुृ चालिसेको विशेषता हो ।
उहाँका कृतिभित्र सामाजिक धरातलमा देखिने गरेका लोक विरोधी गतिविधि, धर्म, संस्कृति, परम्परामा देखिएका सामाजिक थिचोमिचो, अन्याय, अत्याचार, आपराधिक कार्य र विकृतिहरूलाई प्रस्तुत गरिएको हुन्छ । शैलीगत रूपमा हेर्दा उहाँको लेखन जटिल नभएर सरल छ ।
अभिभावकमा अनिश्चित भविष्यको त्रास
शुरुवाती दिनमा पिता रमेश विकल भने विजयले साहित्यमा कलम चलाएकोमा त्यति सन्तुष्ट हुनुहुन्थेन । आफ्नै भूगोलका मित्र एवं नेपाली हास्यव्यङ्ग्य साहित्यका विशिष्ट प्रतिभा भैरव अर्यालसँग विकल यसरी गुनासो गर्नुहुन्थ्यो, ‘हेर न भैरव साहित्यमा लागेर मैले खासै केही प्रगति गर्न सकिन, विजय पनि त्यतै पो लाग्ने भो ।’
प्रतिउत्तरमा अर्याल भने विजयले सही कदम चालेको भन्दै उहाँको बचाउ गर्नुहुन्थ्यो । कालान्तरमा विकलले पनि छोराको लेखाइको तारिफ गरेको पाइन्छ । विजयले आफ्नो साहित्यिक यात्रमा सबैभन्दा ठूलो देन पिता रमेश विकल र भैरव अर्यालको रहेको बताउने गर्नुभएको थियो ।
नेपाली साहित्यमा उहाँले विकल र अर्यालका अलावा लक्ष्मीप्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल, भूपी शेरचन, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, दौलतविक्रम विष्ट, विपी कोइराला, युद्धप्रसाद मिश्र लगायतको कृति मन पराएको देखिएको छ ।
विदेशी लेखकमा प्रेमचन्द, शरद जोशी, अरुन्धती रोय, म्याकसिम गोर्की, लियो टोलस्टोय एन्टोन चेखभ, अर्नेष्ट हेमिङ्वे, दोस्तोभ्एस्की लगायतलाई उहाँले बढी रुचाउनुहुन्थ्यो ।
सम्मानले भेटेका सही सर्जक
करीब ६ दशकदेखि निरन्तर नेपाली साहित्य र पत्रकारितामा क्रियाशील भए बापत चालिसेले विभिन्न सम्मान तथा पुरस्कार पाउनुभएको छ ।
ती मध्ये प्रेस काउन्सिल सम्मान-२०८०, सुरभि अभिनन्दन-२०७४, प्रेस चौतारी नेपाल सम्मान-२०६२, विराट संस्कृति संरक्षण सम्मान-२०६२, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार-२०६८, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार (२०७८), पारिजात बालसाहित्य सम्मान पुरस्कार (२०७३) पाउनुभएको छ ।
त्यस्तै, नई ईश्वर बल्लभ साहित्य पुरस्कार (२०७०), राष्ट्रिय बालसाहित्य पुरस्कार (२०७२), जनमत बालसाहित्य पुरस्कार (२०७२) बालपत्रकारिता पुरस्कार (२०७३) प्रमुख हुन् । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष रहनुभएका चालिसे राष्ट्रिय तथा स्थानीय स्तरका दर्जनौं साहित्यिक एवं सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो ।
सम्झन लायक सक्रियता
सुप्रसिद्ध गीतकार दिनेश अधिकारीको शब्दमा नातिकाजीको संगीत तथा तारादेवीको कालजयी स्वरमा एउटा सदावहार गीत छ ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन............’ ।
विजय चालिसेको जीवनको उत्तरार्द्धमा यो गीतले ठीक मेल खाएको भान हुन्छ । २०८० सालमा चालिसेले एक टेलिभिजन कार्यक्रममा भन्नुभएको थियो, ‘लेख्दा लेख्दै मर्न पाइयोस्’ ।
तर, अत्यन्त कमजोर स्वास्थ्यका कारण उहाँले केही महिनाअघि देखि लेख्न सक्नुभएन । साहित्यिक गतिविधिमा संलग्न हुन पाउँदा दिव्य आनन्द महसुस गर्ने चालिसेको मनोभावना बुझी सकल परिवारले उहाँलाई साहित्यिक कार्यक्रममा भने निरन्तर सहभागी गराइरह्यो । उहाँ साहित्यिक कार्यक्रमहरुमा सकी नसकी पुगिरहनुभयो । कान्छा छोरा आलोक चालिसे उहाँका सारथी बनिरहनुभयो ।
२०८१ चैत ५ मा उहाँले शंकर लामिछाने निबन्ध पुरस्कार पाउनुभयो भने चैत्र २२ मा गृहपालिका गोकर्णेश्वर नगरपालिकाले भव्य कार्यक्रम गरी १ लाख रुपैयाँसहित उहाँको सम्मान गर्यो ।
२०८२ वैशाख २४ मा समेत स—शरीर उपस्थित भई उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठानद्धारा स्थापित ‘रामचन्द्र-इन्दु गौतम’ पत्रकारिता पुरस्कार ग्रहण गर्नुभयो ।
कमजोरीका बाबजुद २०८२ वैशाख ३१ गते उहाँ पोषण पाण्डे—तीर्थ सदनले आयोजना गरेको सम्मान एवं पुरस्कार अर्पण कार्यक्रममा सहभागी हुनुभयो । क्रमशः शरीर थलिँदै गएपछि उहाँ घर बाहिर निस्कन असमर्थ हुनुभयो ।
परिवार होस् त यस्तो
आरूवारी स्थित विजय निवासमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दैनिक साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू तथा अन्य शुभचिन्तकहरू उपस्थित हुन थाले । कुनै झिँजो नमानी चालिसेलाई यस्तो आनन्दमयी वातावरण सिर्जना गरिदिने छोराहरू अरुण र आलोक, छोरी अञ्जु तथा बुहारी सीतालगायतको जति तारिफ गरे पनि कम नै हुन्छ ।
छोराछोरी विदेशिएका कारण बिचल्लीमा पर्ने बिरामी अभिभावकलाई देख्न अभ्यस्त भइसकेका जो कोही यस दृष्टिकोणमा भने चालिसेलाई ‘भाग्यमानी’को संज्ञा दिन्थे । चालिसेको जस्तै स्याहार सुसार सबै बिरामी अभिभावकले पाउन् भनी कामना गर्थे ।
चालिसे उपस्थित सबैलाई चिया नास्ता खुवाएको नखुवाएको बारे चासो राख्दै भेटघाटका ती सुखद पललाई आफै अग्रसर भई मोबाइल मार्फत तस्विरमा कैद गर्न लगाउनुहुन्थ्यो । उहाँको आफ्नै फेसबुकमा ती तस्विरहरू निरन्तर अपलोड पनि भएका छन् ।
आफूलाई भेट्न आउने सबैसँग उहाँको एउटै कुरा हुन्थ्यो । ‘बाँचिरहे भने आगामी २०८२ असार २२ मा मेरो जन्मदिनको अवसरमा मेरा दुई अनुवाद कृतिको विमोचन हुँदैछ, मिलेसम्म पाल्नु होला है ।’ उहाँलाई आफ्नो हिरक जयन्ती स्मरणीय बनोस् भन्ने चाहना थियो भन्ने बुझिन्छ । तर, ‘हुनेहार दैव नटार’ भने झै उहाँको यो चाहना पूरा भएन ।
७५ औं जन्मदिनको ३७ दिन अघि नै उहाँ कीर्तिशेष हुनुभयो । गोकर्णेश्वर घाटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा गृहपालिकको नगरसम्मान सहित उहाँको अन्त्येष्टि गरियो । यसरी नगर सम्मान पाउने उहाँ पालिकाकै पहिलो स्रष्टा हुनुहुन्छ ।
चालिसेको नश्वर शरीर अब हामी माझ नरहे पनि दिवंगत स्रष्टाको सबैभन्दा महत्वपूर्ण पूँजी सरह नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा आफ्ना कृतिहरू सहित आम पाठकका मनमस्तिष्कमा उहाँ युगयुगान्तरसम्म बाँचिरहनुहुनेछ ।
के गर्नु ? प्रकृतिको नियम, बिदा गर्दै पर्ने । उफ्........... अनन्त यत्रामा लागेकालाई फेरि भेटौँला भन्न पनि नपाइने
प्रतिक्रिया दिनुहोस