२५ जेठ २०८२ आईतबार | 08 Jun 2025 Sun

पदयात्रा पर्यटनसँग जोडिँदैछ पसगाउँका प्रकृति र संस्कृति



  • आफ्नै खबर
  • २५ जेठ २०८२ आईतबार (१० घण्टा अघि)
  • पाठक संख्या ७०
  • लमजुङ/  सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ ।

    प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६ सय ५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन मौलिकतालाई स्थानीयले जोगाएर राखेका छन् । 

    संस्कृतिहरूको पुस्तान्तरण गरिएको यस गाउँमा अहिले पनि गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सतिघाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

    गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस गाउँमा २०६० सालदेखि घरबास (होमस्टे) सञ्चालन गरिएको पसगाउँ सामूहिक होमस्टेका सचिव रतनसिंह गुरुङले बताउनुभयो । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ गाउँका २२ घरमा होमस्टे सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । 

    साथै प्राचीन मौलिकतालाई जोगाउँदै तथ बढ्दो बसाइँसराइ रोक्दै गाउँमा नै पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुभयो । २०६० सालदेखि स्थापित भए पनि २०७४ सालदेखि औपचारिक दर्ता भई सञ्चालनमा आएको होमस्टेमा दैनिक एक सय जनासम्म राख्न सक्ने क्षमता रहेको उहाँको भनाइ छ । सुरुमा तीनवटा घरबाट यहाँ होमस्टे सुरु गरिएको थियो ।

    गाउँमा स्थानीय मौलिकतालाई जोगाउनका लागि ढ्ङ्गाले छाएका घरलाई संरक्षण गरिएको छभने गाउँका चोक तथा बाटो छपक्क ढुङ्गाले छापिएको छ । गाउँभित्रै ठाउँठाउँमा रहेका परम्परागत घुमाउने घरले यहाँको सौन्दर्यलाई अझै उजगार गरेको छ ।

    यहाँका एक सय ५३ घरमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका छन् । गाउँको शिरमा रहेको क्होंमे्रडाँडामा भ्यूटावरसँगै अन्य विभिन्न संरचना निर्माण गरिएको छ । गाउँको पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा आदिले पनि यहाँको सौन्दर्यता र महत्वलाई अझै बढाएका छन् । 

    त्यस्तै कैलाश पर्वतजस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरिरहेको स्थानीयवासी बताउँछन् । 

    शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वाससमेत रहेको छ । यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेका छन् । 

    यहाँको घरबासलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङसम्पदा पदमार्गअन्तर्गत समेट्ने गरी प्रवर्द्धनका कार्यक्रम पनि सुरु गरेको छ ।

    सङ्घले पसगाउँलगायत प्राचीन गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेट्दै प्रवर्द्धन र विकासका कार्यक्रम थालेको सङ्घका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताउनुुभयो ।

    सङ्घकै सक्रियतामा कास्की, लमजुङ र मनाङका विभिन्न भूभाग समेट्दै सम्पदा पदमार्ग घोषणा गरिएकामा यसलाई सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजनाका साथ चरणबद्ध रूपमा अध्ययन, अनुसन्धानका कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिनुुभयो ।

    उहाँका अनुसार सङ्घले तेस्रो चरणको कार्यक्रमअन्तर्गत यही जेठ २३ गतेदेखि पोखराबाट सिङ्दी, पसगाउँलगायत गाउँ समेट्दै दूधपोखरी, गुरुङ देउरालीलगायत स्थाननसम्म अन्वेषणात्मक पदयात्रा सञ्चालन गरेको छ । 

    पसगाउँलाई पदयात्रासँग जोड्ने गरी कार्यक्रमहरू सञ्चालन हुनुलाई आफूहरूले अर्थपूर्ण रूपमा लिएको होमस्टे सञ्चालक सदस्य मायादेवी गुरुङले बताउनुभयो । पसगाउँ आएका पर्यटकलाई यहीँका स्थानीय उत्पादन खुवाउने गरिएको बताउँदै उहाँले पर्यटक फर्कँदा खुसी भएर फर्कने गरेको अनुभव सुनाउनुभयो ।

    पदयात्रासँगै जोडिएपछि यहाँको प्रकृति र संस्कृति पर्यटन बजारमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । पसगाउँमा आउने चाहने पर्यटकका लागि विभिन्न बैकल्पिक मार्ग पनि छन् ।

    लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीसहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन भइरहेका छन् । 

    पोखरा हुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो अझै व्यवस्थित भइनसक्दा पनि यात्रीले समस्या भोग्दै आएको स्थानीयवासीको गुनासो छ । 

    गुरुङ सम्पदा पदमार्गको नक्साङ्कनमा समेटिएका पसगाउँलगायत गाउँको प्रवर्द्धन र विकासका लागि पनि स्थानीयवासीको उत्तिकै जागरुकता आवश्यक हुने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङले बताउनुभयो ।

    प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटकलाई प्रदान गरिने आतिथ्यताका लागिसमेत सबैको सामूहिक प्रयास आवश्यक हुने उहाँको भनाइ छ ।

    –रासस