काठमाडौँ/ फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लब अफ काठमाडौँ सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौँमा शनिबार एक कार्यक्रमबीच फोटो पत्रकार क्लबका तर्फबाट अध्यक्ष द्वारिका प्रसाद काफ्ले, पूर्व अध्यक्ष विकास कार्की र सचिव कविन अधिकारी तथा रोटरी क्लब अफ काठमाडौँ सर्कलबाट चार्टड प्रेसिडेन्ट नुगल आनन्द बैद्य, प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्य र प्रेसिडेन्ट इलेक्ट निलहरी कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै चार्टड प्रेसिडेन्ट नुगल आनन्द बैद्यले रोटरीले सन् २००६ देखि विभिन्न क्षेत्रमा रोड सेफ्टीसम्वन्धी विभिन्न सङ्घ संस्थासँग सहकार्यमा कार्यक्रम गर्दै आएको र हाल फोटो पत्रकारहरूसँग जोडिएर काम गर्न पाउँदा आफू र काठमाडौँ सर्कल परिवारलाई खुशी लागेको बताउनुभयो ।
नेपालमा बढ्दो सडक दुर्घटना चिन्ताको विषय भएको भन्दै दुर्घटना न्यूनीकरण गर्न एकमात्र सरल उपाय भनेको आम जनमानसमा जनचेतना फैलाउनु रहेकाले विद्यालयस्तरदेखि घर घरसम्म विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउनुपर्ने उहाँले बताउनुभयो । जसका लागि सबै संघ संस्थासँग सहकार्य जरुरी रहेको बैद्यको भनाइ थियो ।
प्रेसिडेन्ट आचार्यले सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीले देश र समाजका हरेक बर्ग र उमेर समूहमा सडक सचेतना विकास गर्न र सडक दुर्घटनाबाट ठूलो सङ्ख्यामा हुने जनधन क्षति न्यूनीकरणमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
फोटो पत्रकार क्लबका अध्यक्ष काफ्लेले दैनिकजसो सडक दुर्घटना र दुर्घटनाबाट ठूलो जनधनको क्षति न्यूनीकरण गर्ने जनचेतनामूलक क्रियाकलापमा क्लब जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । बढ्दै गएको सडक दुर्घटना र दुर्घटनाले पारेको प्रभाव फोटोको माध्यमबाट बालबालिकादेखि आम जनमानस सम्म जनचेतना फैलाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो ।
क्लबका पूर्व अध्यक्ष बिकास कार्कीले फोटो पत्रकार क्लब विगत लामो समयदेखि विभिन्न संघ सस्थासँगको सहकार्यमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै एउटा निस्वार्थ समाजसेवामा समर्पित रोटरी क्लब अफ काठमाडौँ सर्कल जस्तो संस्थासँग जोडिएर सडक दुर्घटनासम्बन्धी फोटो प्रदर्शनी गर्ने अवसरले समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस