२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’



  • आफ्नै खबर
  • २६ जेठ २०८२ सोमबार (५ घण्टा अघि)
  • पाठक संख्या ४१
  • चितवन/  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएकोमा बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ  । 

    अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी डेकेयरमा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । 

    उहाँका अनुसार ‘ओपिडी’ फार्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छभने अन्तरङ्ग भवनभित्र विपन्नसहित नगदमा चौबीसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।

    डेकेयर फार्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उहाँले जानकारी दिनुभयो ।

    अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने  बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताउनुभयो । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

    –रासस