२८ जेठ २०८२ बुधबार | 11 Jun 2025 Wed

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र



  • आफ्नै खबर
  • २७ जेठ २०८२ मंगलबार (१८ घण्टा अघि)
  • पाठक संख्या ५०
  • तनहुँ/  कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ । 

    कृषि ज्ञान  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डुइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसार सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिनुभयो । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । 

    कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हाम्रो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ । तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ । यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ । यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ ।’ सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।

    यसैबीच, ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका–१ कुन्छाली टोलका किसानलाई आइपिएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘उपज आयात बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आइपिएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।’

    बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ ।’

    किसान आनन्द भुजेल घर्तीले भन्नुभयो, ‘हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि राम्रो भयो । हामी अत्यन्त खुसी छौँ ।’

    वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आइपिएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उहाँले बताउनुभयो । 

    कृषक रीता घर्तीले अञ्जानमै हामीले विषादी खाएको तालिमकै क्रममा थाहा पाएको र यसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताउनुभयो ।

    अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेको उहाँको भनाइ थियो । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताउनुभयो ।

    –रासस