काठमाडौँ/ चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको थियो ।
गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६ सय १० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार तीन सय १४ ले पुनः श्रम स्वीकृति लिएका छन् ।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो ।
वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने १० अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ ।
समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैङ्कले जनाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस