भोजपुर/ सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्विक्षेत्रको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो ।
प्रकृतिको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उहाँको भनाइ छ । यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।
‘यो पूर्वको एक सुन्दर पदमार्ग हो’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘यो क्षेत्र शान्त र रमणीय पनि छ । यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गरिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।’
पदमार्गलाई ट्रेकिङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडकमार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यहाँको प्राकृतिक स्वरुपलाई यथावत राख्न पालिका सजग रहेको भन्दै उहाँले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताउनुभयो ।
पूर्वको एकमात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो । छोटो समयमा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उहाँको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो ।
‘यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो’, उपाध्यक्ष राईले भन्नुभयो, ‘हामी यो क्षेत्रको बृहत विकासमा जुटेका छौँ । पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।’
पदमार्गबाट चारपाटे, मेरापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिनुभयो ।
यहाँको हावापानी हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।
पदमार्ग हुँदै भोजपुरको चार हजार एक सय ५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीयले पालेका चौँरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ ।
–रासस
प्रतिक्रिया दिनुहोस