२९ जेठ २०८२ बिहिबार | 12 Jun 2025 Thu

अनुदानले बढाउँदै मह र मास उत्पादन



  • आफ्नै खबर
  • २८ जेठ २०८२ बुधबार (१ दिन अघि)
  • पाठक संख्या ६६
  • तनहुँ/  आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । 

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो २५ रुपैयाँका दरले अनुदान दिएको हो ।

    आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत तीन लाख ९३ हजार रुपैयाँ अनुदान पाएका छन् । 

    पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भन्नुभयो, ‘पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो ।’

    चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत १७ हजार सात सय रुपैयाँ अनुदान पाएका छन् ।

    त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार सात सय ९७ किलो मास उत्पादन गरेबापत ७० हजार रुपैयाँ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत २१ हजार सात सय ७५ रुपैयाँ अनुदान पाएका छन् । 

    आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार पाँच सय ९० किलो मास उत्पादन गरेबापत ६४ हजार सात सय ५० रुपैयाँ अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत २६ हजार रुपैयाँ अनुदान पाएका छन् । 

    भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले ६ हजार सात किलो मास उत्पादन गरेबापत एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार सात सय ३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत ४३ हजार पाँच सय ७५ रुपैयाँ अनुदान पाएका छन् । 

    खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।’ भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयोे ।

    –रासस