३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

प्रभावकारी बन्दैछ ‘सिक्दै कमाउँदै’ कार्यक्रम



  • आफ्नै खबर
  • २८ जेठ २०८२ बुधबार (१ दिन अघि)
  • पाठक संख्या ४७
  • कास्की/  यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।

    विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जेहनदार, विपन्न एवम् सीमान्तकृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएका छन् । 

    ‘पठनपाठनसँगै सीप प्रदान गरी आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि र आर्थिक स्तरीकरणमासमेत सहयोग पुग्ने विश्वास छ ।’

    उक्त कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थीले सहभागिता जनाएका छन् । प्रदेश सरकारको कार्यविधिअनुसार कार्यक्रम सुरुको अवस्थामा प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ र त्यसपछि प्रतिवर्ष दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिँदै आएको निर्देशक पौडेलले बताउनुभयो ।

    प्रदेशका ३६ वटा सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक ‘स्टिमल्याब’ स्थापना गरी उक्त कार्यक्रम सञ्चालन गरिएका छन् । 

    नवलपुर जिल्लाको देउचुली नगरपालिकास्थित भिमसेन आदर्श माविमा उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले नौमती बाजा एवम् मौरीपालन गरी आयआर्जन गरेको मन्त्रालयका उपनिर्देशक ऋषिराम बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन भएसँगै उक्त विद्यालयमा यसवर्ष एक सय ५० जना विद्यार्थी नयाँ भर्ना भएको विद्यालयले जनाएको छ ।

    बास्तोलाले भन्नुभयो, ‘प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने, लक्षित समुहका विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार र तह पुरा गर्ने दर वृद्धि गर्न छात्रवृत्ति कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।’ 

    विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई सीपसँग जोड्ने काम गरिरहेका छन् । विद्यार्थीलाई सिकेका ज्ञान प्रयोगमा उतार्न विद्यालय हाताभित्र तरकारीखेती, हस्तकलाका सामग्री उत्पादन, पशुपालनलगायत गर्दै आएका छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कार्यक्रममा सहभागी गराइएको छ ।

    –रासस