पाल्पा/ तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् । यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले रमणीय रहेकाले पर्यटकहरू यस क्षेत्रमा टहलिन रुचाउँछन् ।
यहाँँबाट पाल्पाको तानसेन, रूपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यहाँ बर्सेनि पर्यटकको चहलपहल बढ्दै गएपछि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको छ ।
अहिले पनि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई स्वागत गर्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार दुई सय रुपैयाँमा स्वागत, साँझको खाजा, लोकल कुखुराको मासुसहितको खाना र बिहानको खाजाको प्याकेज रहेको छ ।
प्राकृतिक रूपमा सुन्दर जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ । यहाँ भएका होमस्टेलाई थप व्यवस्थित गरी दुवै क्षेत्रलाई होमस्टेको गन्तव्य बनाउने गरी तिनाउ गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले तयारी गरेका छन् ।
यहाँ प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तीकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरूलाई एकहप्ते होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिमसमेत दिन थालिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जन्तीलुङ्ग र मरामकोटलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउने गरी योजना अगाडि सारिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाल बुटवल र भैरहवालगायत क्षेत्रमा गर्मीले बस्न सकिने अवस्था छैन । तर, यहाँको जन्तीलुङ्ग र मरामकोटमा चिसो मौसम छ । यसकारण यहाँ पाहुना बोलाएर मनग्ये आम्दानी गर्न सकिन्छ । सोहीअनुसार योजना बनाएर काम थालेका छौँ ।’
पाहुनालाई व्यवस्थित रूपमा राख्न, स्थानीय परिकार खुवाएर खुसी बनाउन, यहाँको प्राकृतिक वातावरणमा रमाउने अवस्था निर्माण गर्न होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । पाहुनाले पैसाभन्दा पनि स्थानीय मौलिक खानपान, कलासंस्कृति रोज्ने गरेका छन् । यहाँ आउने पर्यटकको रोजाइलाई ध्यानमा राखेर होमस्टे व्यवस्थित गर्न थालिएको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जन्तीलुङ्ग र मरामकोटको वातावरण निकै राम्रो छ । अब स्थानीयवासीले पाहुनाको मन जित्नेगरी काम गर्न सके आम्दानीको राम्रो स्रोत बन्नेमा हामी आशावादी छौँ ।’
हाल जन्तीलुङ्गमा आउने बाटोघाटो राम्रो रहेकाले झुम्सा, चर्चरे र डुम्रेबाट आधा घण्टामै आउन सकिने भएकाले गाउँको आम्दानी र प्रचार–प्रसार गर्न होमस्टे व्यवसाय उत्तम रहेको उपाध्यक्ष थापाको भनाइ छ ।
होमस्टे नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल होमस्टे व्यवसायबाट नै गाउँलाई आर्थिक रूपमा बलियो बनाउन सकिने बताउनुहुन्छ । यसबाट गाउँको कृषि उत्पादन, पशुपालन, अन्य किसिमका रोजगारीसमेत बढ्ने र त्यसले पैसा कमाउन विदेश धाउनुपर्ने अवस्थामा समेत कमि आउने उहाँको विश्वास छ ।
तिनाउ गाउँपालिकाले होमस्टेमा आउने पाहुनाको लागि जन्तीलुङ्गमा सातवटा र मरामकोटमा दुईवटा नयाँ घर निर्माण गरिरहेको छ । दुवै वडावासीलाई मौरीपालन, बङ्गुरपालन तालिम सञ्चालन गरिसकिएको छ ।
अब केही दिनमा तरकारीखेती, बाख्रापालन, खाना पकाउने, अतिथि सत्कार, पाहुना सुत्ने कोठा सजावटसम्बन्धी तालिम र अवलोकन भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने सशक्तीकरण विकास नेपाल पाल्पाकी अध्यक्ष एन्जिना खनालले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस