३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

७५ प्रतिशत अनुदानमा किसानलाई ‘राइस ट्रान्सप्लान्टर’



  • आफ्नै खबर
  • २९ जेठ २०८२ बिहिबार (२४ घण्टा अघि)
  • पाठक संख्या ७०
  • झापा/  भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।

    एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर, ६ हजार थान सीड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर र ६ हजार थान सीड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ५८ लाख ५३ हजार रुपैयाँको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।

    ‘यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ’, उहाँले भन्नुभयो, ‘यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।’ 

    नगरले वितरण गरेको १२ हजार थान सीड ट्रेमा एक पटक बिउ राख्दा करिब एक सय २० देखि एक सय ५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ । 

    प्रोत्साहन रकम
    नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१/८२ को कृषि कार्यक्रममार्फत किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।

    तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने दुई सय ४३ वटा कृषक/संस्थालाई प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले २० लाख रुपैयाँ उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो ।

    त्यस्तै, आलु खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ कृषक/संस्थालाई १५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ । ६ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा दुई हजार रुपैयाँको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो । 

    यस्तै, रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक/संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको सात सय रुपैयाँका दरले र ५९ वटा कृषक/संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको पाँच सय रुपैयाँको दरले गरी पाँच लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, नगर प्रमुख तरकारीखेती प्रवर्द्धन कार्यक्रम अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानलाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा विषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक १८ हजार सात सय ५० रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो ।

    बगर खेती कार्यक्रममा १२ कृषकलाई पाँच लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।

    –रासस