१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

कपाल काट्ने सीप सिक्दै विद्यार्थी 



  • आफ्नै खबर
  • २९ जेठ २०८२ बिहिबार (६ महिना अघि)
  • पाठक संख्या १७५
  • म्याग्दी/  बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । 

    बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरूको रुचिअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

    ‘विद्यार्थीहरूको माग र रुचिअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो’, उहाँले भन्नुभयो, ‘यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ ।’ विद्यार्थीलाई बेनीका अभिषेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहनु भएको छ । 

    दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सीपले सहज हुने बताए । 

    प्रअ श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टौँसम्म कुरेर पालो पर्खनुपर्छ । विद्यार्थीले सिकेको सीपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने प्रअ श्रेष्ठले बताउनुभयो । 

    ‘गत वर्ष प्लम्बिङ र अघिल्लो वर्ष कपाल काट्ने तालिम दिइएको थियो’, उहाँले भन्नुभयो, ‘विद्यालयले प्लम्बिङ, हेयर कटिङ र वायरिङसम्बन्धी सेवा दिन आफ्नै भवनको सटरमा पसल खोल्ने योजना छ ।’

    माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।  

    बेनी नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक/एक लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाँच सय जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।

    –रासस