३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

१९ बालश्रमिकले प्रधानमन्त्रीलाई पत्र लेख्दै भने : बालश्रम अन्त्य गरिदिनुस्

प्रधानमन्त्रीज्यू तपाई त बालबालिकालाई साह्रै माया गर्ने मान्छे भन्ने सुनेको छु । हामीजस्ता बालबालिकाको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्यको सुविधा तपाईंकै पालामा राज्यले गरोस् है ? म निकै आशावादी छु ।



  • रमेश गिरी
  • २९ जेठ २०८२ बिहिबार (१ दिन अघि)
  • पाठक संख्या १११
  • ‘सम्माननीय प्रधानमन्त्रीज्यू 
    बालुवाटार, काठमार्डौ 

    सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम म जस्तो सबैको हेलामा बाँचिरहेकी एक बालिकाको नमस्कार । मेरो नाम पुष्पा श्रेष्ठ हो । मेरो घर मकवानपुरको विकट गाउँमा पर्दछ । मेरो आमाको सात जना छोराछोरी मध्ये म साहिँली छोरी हुँ । म अहिले १४ वर्षकी भएँ । हाल म काठमाडौंको एक संस्थामा आश्रय लिएर भविष्य खोजिरहेकी छु ।’ 

    अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ जना बालश्रमिकले आफ्ना परिचयसहित यसैगरी पत्र लेखेका छन् ।

    विभिन्न क्षेत्रमा बालश्रमिकका रूपमा बालापन व्यतीत गर्दै आएका बालबालिका ‘समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)’ले गरेको अन्तरक्रिया लगत्तै बालश्रम अन्त्य गर्न आह्वान गर्दै उनीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रको एकै प्रकारको सम्बोधनमा आफ्ना फरक जिन्दगीको पीडादायी यथार्थलाई उजागर गरेका छन् । 

    देशमा बालबालिकाका लागि जति पनि नीति नियम बनेका छन्, यो यथार्थमै लागू होस् है ? वर्षमा एक पटक दिवस मात्र मनाएर बालश्रमको अन्त्य हुँदैन नि ।

    प्रधानमन्त्रीलाई लेखेको पत्रमा मकवानपुरबाट बाबुको हत्या आरोपमा आमा पक्राउ परेपछि बिचल्लीमा परेका सातजना दिदीभाइमध्यकी साहिली छोरी पुष्पालाई आफ्नै ठूलो बुबाले काठमाडौँको एउटा घरमा घरेलु कामदारको रूपमा छाडेर गएपछिको पीडालाई उहाँले पत्रमार्फत पोखेकी छन् । 

    बिहान ४ बजेदेखि घरको काम, त्यसपछि घरमालिकको होटलको काम र राति ११ बजेसम्मको कामले थकित बालिकाको अवस्था, मालिकको छोराबाट हुने हिंसा, आफना आमा र दिदीभाइलाई अहिलेसम्म भेट्न नपाएको पीडा र उद्धारपछि अहिले बसेको आश्रयस्थलको पीडालाई उनले पत्रमार्फत प्रधानमन्त्रीका लागि लेखेकी छन् । 

    उनले पत्रको अन्त्यमा लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू तपाई त बालबालिकालाई साह्रै माया गर्ने मान्छे भन्ने सुनेको छु । हामीजस्ता बालबालिकाको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्यको सुविधा तपाईंकै पालामा राज्यले गरोस् है ? म निकै आशावादी छु ।

    देशमा बालबालिकाका लागि जति पनि नीति नियम बनेका छन्, यो यथार्थमै लागू होस् है ? वर्षमा एक पटक दिवस मात्र मनाएर बालश्रमको अन्त्य हुँदैन नि ।

    त्यसको लागि गाउँगाउँमा गएर, घरघर गएर बालबालिकाको अवस्था बुझ्नुपर्छ । बालबालिकाको पक्षमा बनेका कानुन लागू हुनुपर्छ । जो हाम्रो रक्षक हो, उही भक्षक भइरहेको छ । यस्ता व्यक्तिलाई कडा कानुन ल्याउनुपर्छ । यति चाँहि तपाईंकै कार्यकालमा हुनेछ भन्ने ठूलो आशा र भरोसा लिएको छु, हवस्, मेरो पत्र पढिदिनु भएकामा धेरैधेरै आभारी छु ।’

    बालश्रममा जकडिएर धेरै सकस भोगेकी उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले लेखेको पत्रमा पनि उस्तै पीडा छताछुल्ल भएका छन् । 

    गरिबका धेरै सपना कहाँ हुन्छ र ? आफ्नो परिवारका लागि भरपेट खान र एकसरो लाउन पाए त पुगिहाल्यो नि हैन र ?’  

    गरिबीले सिङ्गो परिवारलाई ईँट्टाभट्टासम्म श्रमका लागि ल्याएपछि इँट्टाभट्टामा काम गर्दा झ्याउलीमा भोग्नु परेका दिनलाई पत्रमार्फत उल्लेख गरेकी छिन् ।

    उनी पत्रमा लेख्छिन्, ‘प्रधानमन्त्रीज्यू, आफ्नो गाउँ छाडेर यो शहरमा मजदुरी गर्न आउन कसलाई रहर थियो र ? बाँच्नु त पर्यो नी । गरिबका लागि बाँच्नु नै कठिन सङ्घर्ष रहेछ ।

    एउटा भोका पेट भर्नकै लागि आङ ढाक्ने एकसरो कपडाकै लागि हामी गरिबले ६ महिना इँट्टाभट्टाको हिलो, धूलो र धूवाँ झेल्नुपर्छ । गरिबका धेरै सपना कहाँ हुन्छ र ? आफ्नो परिवारका लागि भरपेट खान र एकसरो लाउन पाए त पुगिहाल्यो नि हैन र ?’  

    उनको पत्रमा बालश्रमका अवधिमा उनले भोगेको अनगिन्ती घाउहरूलाई कोरिएको छ । अन्तमा उनी लेख्छिन्, ‘प्रधानमन्त्रीज्यू हामीजस्ता श्रममा परेका बालबालिकालाई विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिदिनु पर्यो । बालश्रमविरुद्धको ऐन नियम कानुन बनाएर र बनेका कानुनलाई वास्तविक रूपमा कार्यान्वयनमा ल्याउनु पर्यो ।

    १६ वर्ष उमेर माथिका बालबालिकालाई स्वरोजगारमुलक हातमा सीप दिनु पर्यो । श्रमलाई रोक्न नारा होइन, समस्या समाधानको जगमा उभिनु पर्यो । श्रमिकका परिवारलाई रोजगारी दिनु प¥यो, यति भए पुग्छ । आशा गरेको छु यो पत्र पढेर हजुरले सबै बालबालिकाको माग सम्बोधन गरिदिनु हुनेछ ।’

    १९ बालबालिकाले लेखेका पत्रमा फरक श्रमका फरक भोगाइलाई पत्रमार्फत उल्लेख गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची घर भई एउटा संस्थामा आश्रय लिइरहेकी १५ वर्षीया जुनु दाहालको पीडा भयानक छ ।

    आर्थिक अवस्था कमजोर भएको कारण मानव बेचबिखनको जोखिममा पुग्दा उनीलगायत मनोरञ्जनका ती क्षेत्रमा पुगेका अनेकौँ बालिका माथि हुने यौन हिंसाको पीडालाई उजागर गरेकी छन् ।  

    उनले पत्रमा लेखेकी छन्, ‘हामीले जबरजस्ती अरु नचिनेको अपरिचित व्यक्तिसँग यौन सम्पर्क राख्नुपर्थ्यो । हामी बिरामी हुँदा, नसक्ने अवस्थामा हुँदा, महिनावारी हुँदासमेत हामीलाई अरु व्यक्तिसँग यौन सम्पर्कमा राखिन्थ्यो । हामी साह्रै कमजोर हुन्थ्यौँ ।

    हामीलाई राम्रो खाना थिएन । भातभन्दा धेरै जाँड रक्सी खुवाइन्थ्यो । म काम गर्न सक्दिनँ भन्दा पिटाइ खानुपर्थ्यो । बिरामी हुँदा आराम गर्न दिँदैन थिए । ज्वरो आयोभन्दा नाटक गर्यो भन्थे । म अब यहाँ काम गर्दिन भन्दा त्यहाँको साहु साहुनीले ५०/६० हजार तिरेर यहाँबाट जा भनेर नराम्रो शब्द बोलेर हामीलाई गाली गर्ने गर्थे ।

    प्रधानमन्त्रीज्यू, आज यो निवेदन लेखिरहँदा एक बलियो आशा पलाएको छ । जसमा तपाईंले बालश्रममा परेका धरै चेलीको समस्याको समाधान गर्नुहुनेछ । यो चेलीले त्यो बेला मात्र खुसी पाउनेछे, जुनबेला प्रधानमन्त्रीज्यूले यस समस्याको समाधान गर्नुहुन्छ ।’

    दिनमा ५० भन्दा बढी व्यक्तिसँग यौन सम्पर्कमा राख्दाको भोगाइले कति पीडा भयो होला ? सम्झदा पनि कहाली लाग्छ ।’ 

    त्यही यौन सम्पर्कको कारणले गर्दा आज यस्तो सानो उमेरमै आफ्नो ज्यानले थाम्न नसक्ने औषधि र रोगको सामना गर्नुपरिरहेको उनले पत्रमा उल्लेख गरेकी छन् । 

    उनले प्रधानमन्त्रीसँग आर्थिक अवस्था कमजोर भएका नानीबाबुलाई निःशुल्क संस्थामा संरक्षण गरेर राख्ने व्यबस्था गरिदिन, निशुल्क शिक्षा, स्वास्थ्य उपचार गरिदिने, यौन दुर्व्यसन हुने ठाउँतिर प्रहरीले छापा मापरेर कारबाही गर्ने, अशिक्षित व्यक्तिलाई पनि शिक्षाको बाटो र रोजगारी एव सीप पुगे बाँच्ने आधार खडा हुने र बालश्रममा जानु नपर्ने बिचार व्यक्त गरेकी छन् ।

    उनी पत्रमा लेख्छिन्, ‘प्रधानमन्त्रीज्यू मैलै जस्तै पीडा अरु कसैले भोग्नु नपरोस्, मैले कार्य गरेको क्षेत्रमा अरु आबद्ध नानीहरुको मागसहित मेरो माग हो यो । त्यस्ता ठाउँमा स्थानीय तह र प्रहरीले कडा निगरानी र कारबाही गरोस्, हिंसा हुने यस्ता ठाउँहरु बन्द गरियोस्, मजस्ता नानीहरुलाई सुरक्षित ठाउँमा संरक्षण गरेर सीप र शिक्षा दिनुहोस् ।’

    यी पत्र त नमूना मात्रै हुन् । प्रधानमन्त्रीलाई न्यायको माग गर्दै काभ्रेलाञ्चोकको महाभारत घर भई हाल राजधानीको एक संस्थामा आश्रय लिइरहेकी १७ वर्षकी माया तामाङ्गले आफूमाथि श्रम शोषण गर्ने र हिंसा गर्नेलाई कारबाही गरि न्याय दिन माग गरेकी छन् ।

    गरिब परिवार, एक छाक खान धौधौ, पढ्ने खर्च जुटाउन नसक्ने अबस्थामा आफ्नै दाजु बैदेशिक रोजगारीका लागि विदेसिनुअघि आफैँले काम गर्दै आएको घरमा मिठो खान, पढ्न, राम्रो पैसा कमाउन सकिन्छ भनेर घरेलु श्रममा लगाउँदाको पीडालाई उनले पत्रमार्फत अवगत गराएकी छन् । 

    पढ्न त परै जाओस् आधा पेट खाएर बिहान ४ बजेदेखि मध्यराति १२ बजेसम्म घरको काम गर्नुपर्ने हुन्थ्यो । यो बालश्रममा परिरहँदा श्रम मात्र नभई एक हिँसा पनि हुने गरेको थियो । 

    राति घर मालिकले कोठामै आएर गर्ने हिंसाबाट आक्रान्त बनेको जीवनलाई उद्धारमार्फत राहतको श्वास फेर्न पाएको उनले बताएकी छन् । बालश्रम र हिँसाका कारण आजसम्म आफ्नो क्षमताको विकास गर्न नसकेको बताउदै उनले आफूमाथि शोषण र हिंसा गर्नेलाई कारबाही गर्न माग गरेकी छन् । 

    बालश्रमको अन्त्यको लागि कडा कानुनी ब्यवस्था र त्यसको कार्यान्वयनले मात्रै हुन्छ भन्दै पत्रमा उनी लेख्छिन्, ‘प्रधानमन्त्रीज्यू, आज यो निवेदन लेखिरहँदा एक बलियो आशा पलाएको छ । जसमा तपाईंले बालश्रममा परेका धरै चेलीको समस्याको समाधान गर्नुहुनेछ ।

    यो चेलीले त्यो बेला मात्र खुसी पाउनेछे, जुनबेला प्रधानमन्त्रीज्यूले यस समस्याको समाधान गर्नुहुन्छ । धन्यवाद प्रधानमन्त्रीज्यू मेरो निवेदनलाई एक महत्वपूर्ण कागजको रूपमा पढिदिनु भएकामा ।’

    प्रधानमन्त्रीको नाममा विभिन्न जिल्लाबाट श्रमका लागि केन्द्रीय राजधानीका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर बस्दै आएका बालबालिकामध्ये १३ वर्षीया सुस्मिता घले, १५ वर्षीया रञ्जु पनेरु, १५ वर्षीय कृष्ण साह, १३ वर्षीय युवराज मगर, १२ वर्षीय सुविन वाइवा, १६ वर्षीय अमित पहरी, १३ वर्षीय समिर पौडेल, १३ वर्षीय राजेश गोले, १५ वर्षीय शर्मिला थिङ्ग, नौ वर्षीय सुवास वाइबा, १६ वर्षीया पेम्नुरी शेर्पा, १५ वर्षीया रेखा परियार, १६ वर्षीय सञ्जित गुरुङ्ग, १५ वर्षीया मेनुका परियार, १३ वर्षीय निशन दर्जीले पत्र लेख्दै प्रधानमन्त्रीलाई बालश्रमको अन्त्यका लागि अनुरोध गरेका हुन् । 

    प्रधानमन्त्रीलाई बुझाउँदै पत्र
    प्रधानमन्त्रीलाई लेखिएका पत्रहरू बालबालिकाले आज अपराह्‍न बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएका छन् । सिविसकी अध्यक्ष विमला ज्ञवालीले आज अपरान्ह प्रधानमन्त्रीलाई भेट गरी बालबालिकाकै हातबाट पत्र बुझाउने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बालबालिकाको सवालमा निकै सकारात्मक हुनुहुन्छ, त्यसैले बालबालिकाले लेखेको पत्रसहित प्रधानमन्त्रीले बालबालिकालाई भेट्ने कार्यक्रम तय भएको छ । बालश्रम रोक्न उहाँको भूमिका प्रभावकारी हुने अपेक्षा राखेका छौँ ।’

    उहाँले ३० वर्षदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै बालश्रमका अन्त्यका लागि लागिरहेको बताउँदै गाउँमै गएर अभिभावकलाई स्वरोजगारमुलक कार्यक्रम लागू गरेर बालबालिकाको शिक्षामा समेत टेवा पर्याएको बताउनुभयो ।

    संस्थाले बालबालिकालाई गाउँमै रोक्न र शिक्षाका निरन्तर दिन रामेछापको मन्थली, खाँडादेवी, सिन्धुपाल्चोकको हेलम्बुलगायतको क्षेत्रमा अति गरिब परिवारलाई बिउँ पूजीँको रूपमा जनही ५० हजार रुपैयाँ सहयोग गरेर बिभिन्न पेशमा संलग्न गराउँदै बालश्रम अन्त्यका लागि स्वरोजगारमुलक कार्यक्रम लागू गरेको बताउनुभयो ।

    बालश्रमका क्षेत्रमा एडभोकेसी गर्दै आउनुभएका बालअधिकारकर्मी युवराज घिमिरेले अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेको र करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुभयो ।

    नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्कमा पनि पाँचदेखि १७ वर्ष उमेर समूहका १३.३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको उल्लेख भएको उहाँले बताउनुभयो ।

    सिविसले चार सय बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको छ । 

    महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा आएका विषयलाई थप संशोधन गरेर लैजाने जानकारी दिनुभयो । उहाँले ऐन संशोधनका लागि सुझावहरू प्राप्त भइरहेको बताउनुभयो ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयका उपसचिव दीपक ढकालले ऐनमा ३७ वटा विषयमा संशोधन प्रस्ताव गरिएको जानकारी दिँदै जसमध्ये २२ वटा विषय साबिकको ऐनको प्रावधानमा संशोधन गर्नुपर्ने गरी प्रस्ताव आएको र सात वटा विषयमा नयाँ व्यवस्था थप्ने प्रस्ताव गरिएको, आठ वटा दफा/उपदफामा सामान्य व्याख्या, व्याकरणीय त्रुटि सुधार र आनुषाङ्गिक विषय समेटिने गरी प्रस्ताव गरिएको बताउनुभयो ।

    कानुनमा १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने व्यवस्था छ । अठार वर्षमुनिका सबै बालबालिकालाई निकृष्ठ प्रकारको जोखिमयुक्त श्रममा लगाउन नपाइने कानुनी व्यबस्था छ ।

    –रासस