३१ जेठ २०८२ शनिबार | 14 Jun 2025 Sat

प्रकृति र संस्कृतिमा लोभिन्छन् सिउरुङ पुग्ने पर्यटक



  • वासुदेव पौडेल
  • ३० जेठ २०८२ शुक्रबार (२१ घण्टा अघि)
  • पाठक संख्या ६८
  • लमजुङ/  लहरै गुचुमुच्च घरहरू, ढुङ्गैढुङ्गाले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर । लम्जुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्‍टता भनेको यस्तै यस्तै मनमोहक भौतिक अवस्था र संस्कृति हो ।  

    गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ, सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुद्री सतहबाट एक हजार आठ सय ५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ । 

    कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन् । यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा. हर्क पिक, माछापुच्छ्रे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ ।

    गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास (होमस्टे)का सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ ।  

    उहाँका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन् । गाउँमा कुल एक सय १५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ ।

    स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ । घले लामिछाने भाइखलकबाट ६५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिनुभयो ।

    स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिनुभयो ।

    यहाँस्थित होमस्टेमा पाहुनालाई जङ्गली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भीरमौरी, टिम्मुरको अचार, सिलटिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ । स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन् । 

    होमस्टे सञ्चालन भएयता दैनिक १०/१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताउनुुभयो ।

    उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ । यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।’

    होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी भएको बताउनुभयो । यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

    कसरी पुग्ने
    लमजुुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैं हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दूरी पार गर्नुपर्छ । यहाँ पुग्न बाटोको भने समस्या छ । बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको छ । 

    गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ । दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समय भने निरन्तरता दिन नसकिएको उहाँले जानकारी दिनुभयो ।

    सिउरुङबाट थुर्जु–दूधपोखरी हुँदै कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने पदमार्ग रहेको छ । यस्तै, यहाँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा पदमार्ग छन् ।

    सिउरुङ गाउँलाई दूधपोखरी, गुुरुङ देउराली हुँदै मनाङको तिमाङलगायत स्थान जोड्ने गुुरुङ सम्पदा पदमार्गसँग जोड्ने गरी नक्साङ्कनसँगै प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि बढाइएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताउनुभयो ।

    सङ्घले हालै पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङलगायतका स्थानको अन्वेषणात्मक पदयात्रा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

    प्राचीन भेडीगोठ, नुनबोक्ने मार्ग आदिलाई पदयात्रा पर्यटनसँग जोड्दै पदमार्गमा पर्ने पर्यटकीय गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको उहाँले बताउनुभयो ।

    –रासस