३१ जेठ २०८२ शनिबार | 14 Jun 2025 Sat

मौरीपालमान रमाइरहेका इन्जिनियर



  • आफ्नै खबर
  • ३० जेठ २०८२ शुक्रबार (१९ घण्टा अघि)
  • पाठक संख्या ४९
  • स्याङ्जा/  वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आउनुभएको छ । पेसाले सिभिल इन्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गर्नुभएको हो ।

    इन्जिनियरिङ पेसासँगै उद्यमशीलताको अभ्यासस्वरूप स्थानीय सेरेना जातको मौरीपालन थालेको उहाँले बताउनुभयो ।

    ‘वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ’, मल्लले भन्नुभयो, ‘पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।’

    फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आउनुभएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्याउनुभयो । फर्ममा हाल दुई सयभन्दा बढी घार रहेका छन् । 

    जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । जङ्गलको मह प्रतिकेजी एक हजार पाँच सय रुपैयाँ र तोरीको मह प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको मल्लले बताउनुभयो ।

    उहाँले सुनाउनुभयो, ‘चालु आर्थिक वर्षमात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट १३ लाख रुपैयाँ आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको आठ सय रुपैयाँका दरले र टुनीको घारसहित नौ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा तीन सय फ्रेम मौरी बिक्रीबाट दुई लाख ४० हजार रुपैयाँ आम्दानी भएको छ ।’

    फर्मले स्थानीय फर्निचरसँग टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इन्जिनियर मल्ललाई हाल अन्य दुई जनाले पनि उहाँलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म २५ लाख रुपैयाँ लगानी भएको उहाँले बताउनुभयो ।

    ‘यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ’, उहाँले भन्नुभयो, ‘उद्यमशीलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।’

    –रासस