३१ जेठ २०८२ शनिबार | 14 Jun 2025 Sat

किसानले अनुदानमा पाए १६ थरीका कृषि उपकरण



  • आफ्नै खबर
  • ३० जेठ २०८२ शुक्रबार (१८ घण्टा अघि)
  • पाठक संख्या ४४
  • मुस्ताङ/  यहाँका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

    जोनको वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजना कार्यान्वयन एकाइ मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो । 

    परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन् । उहाँका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरूप आज मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपरकण वितरण गरिएको छ ।

    परियोजनाले स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार रुपैयाँ बजेटमा रहेर पाँचवटै स्थानीय तहलाई समेट्ने गरी यान्त्रिक उपकरण हस्तान्तरण गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । परियोजनाले २६ थान डिजेलबाट चल्ने र नौ थान पेट्रोलबाट चल्ने गरी कूल ३५ थान यान्त्रिक उपकरण हलो अनुदान सहुलियतमा वितरण गरेको छ ।

    यसैगरी स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत परियोजनाले घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौँती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, ब्रस कटर १९ थान, भर्याङ सात थान, कुटो २९, कोदाली ८३ थान, गैँची दुई थान, बाउसो २४ थान डोजे २१ थान, बेल्चा पाँच थान पोर्टेबल लिड स्प्रे चार थान गरी ३१३ थान विभिन्न उपरकण अनुदान सहुलियतमा वितरण गरेको हो ।

    परियोजनाले यान्त्रिक उपकरणबाहेक किसानलाई मागका आधारमा ८५ प्रतिशतसम्म अन्य किसिमका अनुदान सहयोग गर्दै आएको छ । मुस्ताङका किसान छिरिङ गोम्बो गुरुङले कृषि क्षेत्रको समुन्नत विकासमा यसप्रकारको यान्त्रिक उपकरण अनुदानले ठूलो टेवा पुर्याउने गरेको बताउनुभयो । 

    मुस्ताङमा स्याउलगायत विभिन्न शीतोष्ण फलफूलका साथै उवा, फापर, जौ, आलु, मकै र विभिन्न जातका तरकारीहरु उत्पादन हुन्छ ।

    यहाँको परम्परागत कृषि प्रणाली बढी मात्रामा झन्झटिलो र लागत खर्च बढी हुने भएकाले पछिल्लो समय कृषि व्यवसायलाई थप परिष्कृत बनाएर लैजान समस्या देखिएको छ । जनशक्ति र खेत जोत्ने गोरु झोपा पाल्न छोडेपछि कृषि प्रणालीमा चुनौती थपिएको हो ।

    पछिल्लो समय मुस्ताङका किसानलाई कृषिसँग सम्बन्धी सरकारी कार्यालय तथा स्थानीय तहले वर्सेनि अनुदान सहुलियतमा यान्त्रिक उपकरण हलोलगायत उपकरण वितरण गर्न थाले कृषकलाई निकै ठूलो सहयोग पुगेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो ।

    यान्त्रिक उपकरणले थोरै जनशक्तिबाट काम गर्न सकिने, समयको बचत, कृषि कामकाजमा सहजता र आर्थिक बचतमा सहयोग पुग्ने कृषि शाखा अधिकृत थकालीको भनाइ छ ।

    –रासस