३२ जेठ २०८२ आईतबार | 15 Jun 2025 Sun

टरुवा ताल संरक्षण सुरु



  • आफ्नै खबर
  • ३१ जेठ २०८२ शनिबार (१६ घण्टा अघि)
  • पाठक संख्या ३८
  • नवलपरासी पूर्व/  जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइकार्य सुरु गरिएको हो । 

    पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार सात सय १३ वर्ग मिटर रहेको छ ।

    ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो । 

    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ताल सफाइको काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतिक्षा पौडेलले बताउनुभयो । एक हप्तादेखि तालको सफाइको काम जारी रहेको उहाँले बताउनुभयो । रोजगारी शिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उहाँको भनाइ छ ।  

    नियमित रूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो । दैनिक रूपमा करिब पच्चीस जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् ।

    कार्यक्रम संयोजक पौडेलले भन्नुभयो, ‘बेरोजगारको सूचीमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ । यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ ।’ 

    केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो । 

    टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।

    पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरमा रहेको प्राकृतिक रूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोको भनाइ छ । 

    हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

    सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउने देखि घर निर्माणकार्यसमेतमा प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यसकारणपनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ ।

    –रासस