१५ साउन २०८२ बिहिबार | 31 Jul 2025 Thu

बढ्दो व्यवसायिक सुन्तलाखेती



  • आफ्नै खबर
  • १ असार २०८२ आईतबार (२ महिना अघि)
  • पाठक संख्या ९१
  • भोजपुर/  भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यवसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । 

    यस क्षेत्रका अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताउनुभयो । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ  बिरुवा धमाधम विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ ।

    ‘हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म  आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।’

    वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उहाँ भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा  सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उहाँको भनाइ छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ । 

    खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लास्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको उहाँले बताउनुभयो । मेहनत गरे यहाँ नै  किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उहाँले बताउनुभयो ।

    ‘कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचबिखनका लागि सहजता छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।’

    –रासस