कैलाली/ चलचित्रमार्फत स्थानीय कला, संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्याउन सकिनेमा धनगढीमा आयोजित ‘सिनेमा संवाद कार्यक्रम’मा जोड दिइएको छ ।
संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश चलचित्रले उठाउन सक्ने कथावस्तु र छायाङ्कनका लागि ‘भर्जिन’ क्षेत्र भएकाले यस क्षेत्रका कला, संस्कृतिलाई समेटेर सिनेमा निर्माण हुनुपर्ने, पर्यटकीयस्थललाई सिनेमामार्फत् प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
कार्यक्रममा कलाकार चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन बजारका चुनौती र सिनेमा समाजको सम्बन्धबारे बहस एवं छलफल गरिएको छ ।
नेपाली ‘सिनेमा’ नवीन पुस्ता र नवीन दृष्टिकोणका विषयमा भएको संवादमा पछिल्लो समयमा नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिँदो प्रविधिले पारिरहेको प्रभावका बारेमा पनि बहस केन्द्रित भएको थियो ।
संवादमा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर वली र निलम चन्दले बहस गर्नुभएको थियो । ‘सिनेमा’मा सुदूरपश्चिमको इतिहास र संस्कृति विषयमा भएको बहसमा पत्रकार सीताराम ओझा, साहित्यकार हेमन्त विवस, चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले भागलिनु भएको थियो ।
यो संवादमा चलचित्रमा उठान गर्न सकिने सुदूरपश्चिमका विषयवस्तु र कथाहरूको बारेमासमेत छलफल गरिएको थियो । उक्त अवसरमा चलचित्र निर्देशक नेपालले सुदूरपश्चिमको मौलिक विषयमा सोही ठाउँका रमणीयस्थलमा छायाङ्कन गर्नेगरी चलचित्र निर्माण गर्ने घोषणा गर्नुभयो ।
डोटेली भाषा सिनेमा र सङ्गीतको विषयमा छलफल भएको अर्को सत्रमा पत्रकार सीताराम ओझा, गीतकार हर्क साउद, देउडा गायक नरेन्द्रराज रेग्मी, पत्रकार उमीद बाग्चन्दले भाग लिनुभएको थियो । बहसमा देउडा गीत सङ्गीत र त्यसको मौलिकताको विषयमा समेत छलफल भएको थियो ।
सिनेमा संवादको चौथो सत्रमा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाको भूमिका विषयमा भएको बहसमा पत्रकार टकेन्द्र देउवा, कलाकार सरस्वती खड्का, डोटेली भाषाको चलचित्र गौरीका निर्माता खड्कबहादुर मल्ल, थारु चलचित्रका अभिनेता प्रेम चौधरीले भाग लिनु भएको थियो ।
सुदूरपश्चिमको परिचय बोकेका दोधारा चाँदनीको झोलुङ्गे पुल, अपि र शैपाल हिमाल, खप्तड क्षेत्र, कर्णाली पुल, रामारोशन, कञ्चनपुरको शुक्लाफाँटा, जस्ता पर्यटकीय क्षेत्रलाई ‘सिनेमा’ले समेट्दा स्थानीय पर्यटन प्रवर्द्धनमा पर्ने प्रभावका बारेमा पनि यो सत्रमा छलफल भएको थियो ।
आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशी र जेडिएशोसियट्सका प्रमुख दिनेश भण्डारीले प्रदेशमा पहिलो पटक भएको संवाद कार्यक्रमले स्थानीय कला, संस्कृतिको संरक्षण सम्वर्द्धनमा योगदान दिन टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले ‘सिनेमा संवाद’ कार्यक्रम सहरमुखी मात्र नभइ गाउँ केन्द्रित गर्न आग्रह गर्नुभएको थियो ।
–रासस
प्रतिक्रिया दिनुहोस