२ असार २०८२ सोमबार | 16 Jun 2025 Mon

लेकगाउँका हरेक घरमा धारा



  • आफ्नै खबर
  • २ असार २०८२ सोमबार (१० घण्टा अघि)
  • पाठक संख्या ६२
  • म्याग्दी/  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।  

    लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो । 

    अध्यक्ष रञ्तिजाले भन्नुभयो, ‘घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ । मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ । घरघरमा खानेपानीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ ।’ 

    गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । गत चैत २९ गतेदेखि निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न भएको गोर्खा वेलफेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिनुभयो । 

    उहाँका अनुसार, खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको ५० लाख ५४ हजार रुपैयाँ र स्थानीयवासीको १० लाख ९२ हजार रुपैयाँ बराबरको श्रमदान गरी कूल ६१ लाख ४६ हजार रुपैयाँ लगानी भएको छ ।

    आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायत पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण सुरु गरेको छ ।

    आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरूपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इन्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन । उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरूप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौँ ।’

    यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरूमा बाहिरबाट कुनै पनि फोहर भित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ । 

    आयोजना निर्माण सुरु भएको दुई महिनामै धाराबाट पानी आउन थालेपछी स्थानीयवासी उत्साहित भएका छन् । गाउँको सिरानमा रहेको पानीखाना मूलबाट पानी ल्याएर १० हजार र ६ हजार लिटरका दुई वटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमुना जिरेलले जानकारी दिनुभयो । 

    यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरूको संरक्षण गरिएको छ । योजनाको दिगोपनाका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।

    –रासस