३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

पुस्तान्तरण गरिँदै लोकभजन



  • आफ्नै खबर
  • ३ असार २०८२ मंगलबार (७ घण्टा अघि)
  • पाठक संख्या ४०
  • बागलुङ/  २०७४ सालअघि बागलुङमा भजन समूह थिएनन् । गाउँमा परम्परागत तरिकाले पूजाआजामा मात्रै हुने सीमित भजनमा पुस्तान्तरणको अभाव थियो । लोकभजन र चुट्का लोप हुन थालेपछी यहाँ भजन संरक्षणमा चासो देखाउँदै राष्ट्रिय रूपमा जिल्लाको कला, संस्कृति चिनाउन नयाँ पुस्ता सफल भएका छन् ।

    भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठनले भजन संरक्षणमा टेवा पुर्याएको छ । २०७४ सालदेखि गठन गर्न थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ ।

    सुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो । २०७८ सालमा जिल्ला भजन समिति गठन भएपछि भजनको गतिविधि बढेको हो । जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेका जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीले जानकारी दिनुभयो । 

    जिल्लास्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठमन्दिरअनुसार समूह गठन गर्ने, आपसी सहयोग बढाउने, वाद्यवादनका सामग्री खरिद गर्ने, अनुभव आदानप्रदान गर्ने र व्यावसायिक रूपमा भजन गाउने कामको थालनी गरिएको उहाँको भनाइ छ । 

    पछिल्लो समय लोप हुने खतरा बढेपछि लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमी सङ्गठित भएर लागेका हुन् । लोकभजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीले सङ्गठन विस्तारदेखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् । 

    ‘भजनको धेरै विधा र ताल छन् । अहिले औपचारिक मेला महोत्सवमा  भजनकीर्तन गर्ने र भजनको लयमा नाटक देखाउने गरिएको छ’, केसीले भन्नुभयो, ‘सनातन हिन्दूधर्म, पूर्वीय दर्शनमा आधारित संस्कार र संस्कृतिका रूपमा रहेको लोकभजन संरक्षणका लागि यहाँका युवा सक्रिय छन् भने भजन प्रेमीले सहयोग गरिरहेका छन् । अहिले वाद्यवादनका सामग्री सहयोगबाट जुटाइएको छ । भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ ।’

    २०७६ सालमा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । त्यसयता स्थानीय तहले मादल बजाउने तालिम प्रदान गरिरहेका छन् । 

    उहाँले कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रूपमा गाउँदै आएको छ भने अन्यत्रको पूजाआजामा भजन गाउनका लागि समूहलाई खटाउँदै आएको खड्काले जानकारी दिनुभयो । 

    विभिन्न मठमन्दिर, चौरासी पूजा र व्रतबन्धमा भजन गाउन समूह सक्रिय रूपमा लाग्ने गरेका छन् । भजन संरक्षण, प्रशिक्षण तथा प्रवर्द्धन सहयोग पुग्न थालेको छ । धार्मिक पर्यटकलाई लोकभजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ । प्रतिष्ठानको अगुवाइमा पाँच लाख रुपैयाँ बराबरको ध्वनियन्त्र र वाद्यवाधनका सामग्री सङ्कलन गरिएको अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यले जानकारी दिनुभयो ।

    –रासस