३ असार २०८२ मंगलबार | 17 Jun 2025 Tue

उद्यमका उदाहरण, उनी हुन् रुद्रनारायण



  • सुशीला रेग्मी
  • ३ असार २०८२ मंगलबार (७ घण्टा अघि)
  • पाठक संख्या ४२
  • पाल्पा/  सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला रित्तो हात रामपुर झरेका रुद्रनारायण श्रेष्ठको उद्यमशीलता यतिखेर अन्यका लागि अनुकरणीय बनेको छ । जीवनका विभिन्न उतारचढावलाई पार गर्दै सफल व्यवसायीका रुपमा स्थापित बन्नुभएका श्रेष्ठको उद्यमशीलता यतिखेर धेरैका लागि दरिलो पाठ बनेको हो ।

    किताबका पाना पल्टाएजस्तै गरी व्यवसायको दौरानमा श्रेष्ठको जीवनमा धेरै अनुभव सँगालिएका छन् । उहाँको पहिचान भने सिन्के चाउचाउ र झिनियाँका नामले प्रख्यात छ । 

    उहाँको व्यापारिक जीवनशैली पढ्ने हो भने धेरै उतारचढावका छन् । कहिले दुःख त कहिले सुख, कहिले हार त कहिले सफलता यस्तै–यस्तै व्यावसायिक जीवनलाई अगाडि बढाउनुभएका रुद्रनारायण अहिले आइपुग्दा भने एउटा सफल व्यवसायी मात्रै नभई उद्योग, व्यवसायको क्षेत्रमा प्रोरणाका स्रोत हुनुहुन्छ । 

    पाल्पा रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने उहाँ यो समाजकै एक प्रतिष्ठित र सफल उद्यमी हो । व्यापार, व्यवसायमा राम्रो सफलता कमाउनुभएका श्रेष्ठले युवालाई व्यवसायमा ल्याउन प्रोत्साहन गर्ने, नयाँ व्यवसायीलाई आड, भरोसा, बजारीकरण, अहिलेको प्रतिस्पर्धात्मक बजारमा कसरी व्यवसाय गर्ने लगायतका सन्दर्भमा सहजीकरण गर्दै आउनुभएको छ । 

    श्रेष्ठले हाल आफ्नै घरमा कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योग सञ्चालन गरिरहनुभएको छ । हालको पूर्वखोला गाउँपालिका–५ स्थित वीरकोटमा जन्मनुभएका श्रेष्ठले भविष्यमा व्यवसायका लागि रामपुर बजारको राम्रो सम्भावना देखेपछि २०५२ सालमा व्यवसाय गर्ने अठोट बोकेर रित्तो हात आएको उहाँ बताउनुहुन्छ । 

    त्यसअघि भने उहाँले पाल्पाकै वीरकोट, आर्यभन्ज्याङ र जब्गादीमा किनारा पसल चलाउनुभयो तर, सफल भने हुनुभएन ।

    जस्तोसुकै कठिनाइ आइपरे पनि कहिल्यै विचलित नहुने श्रेष्ठलाई रामपुर बजार झरेपछि भने व्यवसायमा सफलता मिल्यो । उहाँले चलाउनुभएको कालिका सिन्के चाउचाउ तथा झिनियाँ उद्योगमा आठ जनाले रोजीरोटी गर्ने अवसर पाएका छन् ।  

    ‘रामपुर बजार हेर्दा समथर भूभाग, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको एउटा व्यापारिक केन्द्र भएकाले यो ठाउँमा व्यवसायका लागि उपयुक्त छ भन्ने लागेर रित्तो हात गाउँबाट झरेको हुँ’, उहाँले भन्नुभयो, ‘व्यवसायका लागि हातमा पैसा त थिएन तर बैङ्कबाट ऋण लिएर सुरुमा व्यवसाय चलाउन थालेँ, राम्रो हुँदै गयो ।’ 

    यतिबेला उहाँको दैनिकी उद्योगमा उत्पादित चाउचाउ तथा झिनियाँ गाउँ तथा बजारमा बिक्री गर्नमा बितिरहेको छ । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा विभिन्न सङ्घसंस्थामा नेतृत्व सम्हाल्नुभएका श्रेष्ठले आफैँ मोटरसाइकलमा चाउचाउ बोकेर पसल तथा होटलमा पुर्याउन जानुहुन्छ । यसरी सामान पसल तथा घरघरमा पुगेर बिक्री गर्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ । 

    ‘ग्राहक तथा व्यापारीले माग गरेपछि जुनसुकै समयमा घरमै सामान बिक्रीका लागि पुग्ने गरेको छु । व्यवसाय नाफा कमाउने थलो मात्र होइन, यसलाई सेवामूलक हिसाबले लिनुपर्छ’, श्रेष्ठले भन्नुभयो, ‘उद्योगमा कामदारसँगै दैनिक खटिएर काम गरिरहेको हुन्छु । कामदारलाई व्यवसायमा लगाउने र मालिक बनेर म कहिल्यै बसिनँ । उनीहरुसँगै काम गर्दा रमाइलो लाग्छ । एकापसमा सिकाइ आदानप्रदान भइरहन्छ । व्यवसायमा यही छ आनन्दको जिन्दगी ।’  

    उद्योग तथा व्यवसायको क्षेत्रमा कुरा गर्ने हो भने उहाँको नाम अग्रपङ्क्तिमा आउँछ । प्रतिस्पर्धात्मक युगमा व्यवसाय भरसक आफ्नै मात्रै चलोस्, आफूले मात्रै कमाउन सकुँ भन्ने यो धारणा धेरैमा हुन्छ । व्यवसायमा आफू पनि सफल बन्ने प्रयत्न गरौँ, अन्य व्यवसायीलाई पनि सफल बनाउनुपर्छ भन्ने उहाँको दृढ सङ्कल्प छ । 
     

    सङ्घर्षपूर्ण अतित
    श्रेष्ठले रामपुरमा सुरुआती चरणमा किसानबारी बजारमा दुई वर्षसम्म किराना पसल चलाउनुभयो । त्यहाँ रहँदा गाउँ–गाउँमा किरानाका सामान होलसेलमा पुर्याउनुहुन्थ्यो । किराना पसलपछि रामपुर–५ राङभाङमा कुखुरापालन व्यवसाय सुरु गर्नुभयो ।

    कुखुरापालनमा पनि सोचअनुसार सफलता मिलेन । व्यवसाय थालनीको दुई वर्षमै कुखुरा मरेर ठूलो क्षति बेहोर्नुपर्यो । तैपनि व्यवसायमा हार भने मान्नुभएन । पुनः व्यवसायलाई अगाडि बढाउँदै जानुभयो ।

    कुखुरापालनसँगै सिन्के चाउचाउ उद्योग स्थापना गर्नुभयो । चाउचाउ उद्योगमा निरन्तर जोड दिएर लाग्नुभयो । चाउचाउबाट राम्रो आम्दानी हुँदै गएपछि झिनियाँको व्यापारसमेत थालनी गर्नुभएको हो ।

    सामाजिक भावना
    कामदार पारिश्रमिक खर्च र व्यवसायको लगानी खर्च कटाएर वार्षिक रुपमा हाल पाँच लाख बढी नाफा लिने गरेको उहाँ बताउनुहुन्छ । रामपुरमा फार्मका रुपमा विस्तार गर्ने चाउचाउ, सिन्के र कुखुरापालन व्यवसाय यो क्षेत्रकै पहिलो व्यवसायी श्रेष्ठ हुनुहुन्छ । 

    ‘पहिलाको तुलनामा अहिले व्यापार–व्यवसायको बजार हेर्ने हो भने आधाभन्दा धेरै घटेको छ । तैपनि मैले व्यवसायबाट राम्रै लाभ लिइरहेको छु’, श्रेष्ठले भन्नुभयो, ‘व्यापार राम्रो हुँदाका बखत एक महिनामै दुई लाख रुपैयाँबराबरको आम्दानी गर्थेँ । कोभिड–१९ पश्चात् सबै क्षेत्रका व्यापार व्यवसाय कम भएका छन् । म यस व्यवसायबाट सन्तुष्ट छु । बाँचुन्जेल यसमै रमाउने हो ।’ 

    उत्पादन भएका सामान पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न स्थानमा खपत भइरहन्छ । कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका श्रेष्ठले व्यवसाय गर्ने क्रममा धेरै अनुभव बटुल्नुभएको छ । आफ्नो गाउँठाउँमा विभिन्न व्यापार, व्यवसाय विस्तार गर्ने त्यसबाट आर्थिक समृद्धि ल्याउने उहाँको अभियान छ ।

    उहाँ भन्नुहुन्छ, ‘व्यवसायबाट फाइदा र लाभ भन्ने मात्रै छैन । व्यवसाय गरेपछि समाजमा पनि हित हुने खालको योगदान दिनुपर्छ भन्ने मेरो सङ्कल्प छ । मैले आफ्नो व्यवसायलाई मात्रै प्राथमिकता दिएको छैन । यहाँ सञ्चालन भएका विभिन्न व्यवसाय, उद्योगमा बेला–बेलामा जाने, सल्लाह दिने, बजारीकरणका लागि सघाउने कार्य गरिरहेको छु । व्यवसायमा आफू पनि टिकौँ र अरूलाई पनि टिकाऔँ भन्ने नै मेरो मुख्य सङ्कल्प छ ।’

    रामपुर बजार उहाँका लागि आयआर्जन गर्ने र समाजसेवा गर्ने थातथलो बनेको छ । हरेक क्षेत्रमा पुग्दा व्यापार–व्यवसायकै सन्दर्भमा छलफल र बहस गर्नुहुन्छ । आफूले जानेका अनुभव अरूलाई बाँड्ने र अरूका नयाँ अनुभव ग्रहण गर्दै व्यवसायमा लगाउनुहुन्छ ।

    काममा मेहनत र जाँगर भएमा सफलता एक दिन अवश्य हात पर्छ भनेझैँ अहिले व्यवसायबाट उहाँको जीवनमा सफलता नै सफलताले छाएको छ ।

    व्यापार–व्यवसायमा उहाँले सानै उमेरदेखि नै रुचि राख्ने गर्नुहुन्थ्यो । विद्यालयमा पढ्ने क्रममा गाउँका पसलबाट होलसेल मूल्यमा मिठाई खरिद गरेर कक्षाकोठामा केही नाफा गरेर साथीभाइमाझ बिक्री गर्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । मिठाई बिक्रीबाट गरेको नाफाले कापी, कलम, किताबमा खर्च गर्नुहुन्थ्यो । यसरी बिक्री गर्दा नाफा हुने रहेछ भन्ने जानकारी भएपछि उहाँको मन व्यापारमा नै तानियो । अन्ततः उहाँले आफ्नो जीवन नै व्यापारमा लगाउनुभयो । 

    सामाजिक सङ्घसंस्थामा नेतृत्व गर्ने श्रेष्ठ यो क्षेत्रकै एउटा सफल उद्योगी मात्र होइन, सबैका लागि व्यवसायमा उत्प्रेरणाको स्रोत हुनुहुन्छ । यही व्यवसायबाट पाँचजना छोराछोरीलाई उच्च शिक्षा दिनुभएको छ । व्यवसायबाटै आफ्ना सन्ततिलाई एमबिबिएस (चिकित्सा स्नातक र शल्यचिकित्सा स्नातक) सम्मको शिक्षा दिन सफल भएको उहाँ बताउनुहुन्छ ।

    यही व्यवसायबाटै चारजना छोरीको बिहे खर्चसमेत व्यवस्थापन गर्नुभएको छ । यो व्यवसायमा रुद्रनारायणलाई श्रीमती लक्ष्मी र छोराछोरीको राम्रो साथ रहेको छ । उच्च शिक्षा सकेर अन्य रोजगारीमा आबद्ध रहेका छोराछोरीले पनि व्यवसायलाई सघाइरहेको उहाँ बताउनुहुन्छ ।

    रामपुर बजारका अलावा काठमाडौँ, बुटवल बजारमा घरघडेरी समेत बन्दोबस्त गर्नुभएको छ । व्यवसायका लागि बैङ्कबाट लिएको ऋणलाई व्यवसायमा राम्रो सदुपयोग भएको उहाँ बताउनुहुन्छ । व्यवसायमा आउने उतारचढावलाई सामान्य रुपमा लिने उहाँको बानी छ ।

    उद्योग, व्यवसायको क्षेत्रमा रुद्रनारायणले योगदान अतुलनीय रहेको हुँदा उहाँको व्यवसाय सबैका लागि सिक्न र हेर्न लायकको रहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । 

    नगर प्रमुख थापाले भन्नुभयो, ‘व्यवसायमा हुने सफलता र असफलताका परिस्थितिलाई मिलाएर अगाडि बढ्न सक्यो भने एक दिन सफलता हात पर्छ भन्ने एउटा उदाहरण उहाँले समुदायमा दिनुभएको छ । व्यापार–व्यवसाय कसरी गर्ने भन्ने उहाँबाट सिक्न जरुरी रहेको छ । उहाँ जस्ता सफल व्यवसायीले नगरपालिकामा उद्योग, व्यवसायको क्षेत्रमा ठूलो योगदान पुगेको छ ।’

    सादा जीवन उच्च विचार राख्ने श्रेष्ठको कार्यशैली साँच्चिकै सबैले सिक्नुपर्ने खालको छ । व्यवसायबाट सफलता चुलिँदै जाँदा पनि उहाँको कार्यशैली अत्यन्तै सरल छ ।

    उमेरले उहाँ छ दशक प्रवेश गरे पनि युवा पुस्तामाझ लोकप्रिय व्यक्ति हुनुहुन्छ । ढल्कँदो उमेरमा पनि व्यवसायप्रतिको लगाव र मेहनत देख्दा आजका युवा पुस्ताले अनुकरण गर्नुपर्नेछ ।

    –रासस