सुर्खेत/ भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् ।
यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती बढी लाभदायक देखेपछि बारीका डिल, छेउछाउ तथा घर आँगनमै लिची र आँपका बिरुवा रोप्न थालेका छन् ।
गाउँभर अहिले लिची टिप्न किसानलाई भ्याइनभ्याइ छ । किसानहरू हरेक दिन भर्याङ ठड्याएर लिचीका दाना टिप्ने चटारोमा देखिन्छन । रामघाट–११ की रूपा धौलाकोटीले लिची उत्पादनबाट वार्षिक लाखौँको आम्दानी गर्दै आइरहेको बताउनुभयो । ४६ वर्षीया धौलाकोटीले करिब चार बिघामा ३० वटा लिचीका बोट र एक सय ५० वटा आँपका बोट रोप्नुभएको छ ।
२५ वर्षअघि रोपेका लिची र आँप उहाँको आम्दानीको स्रोत हुन् । उहाँले भन्नुभयो, ‘यसपालि हावाहुरीले आँपमा असर गर्यो तर लिची राम्रो फल्यो ।’
उहाँका अनुसार बोटमै प्रतिकिलो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा लिची बिक्री हुने गरेको छ । ग्राहक स्वयं किसानको घरमै आइपुग्ने भएकाले बजार खोज्न जानु नपर्ने उहाँ बताउनुहुन्छ ।
‘वार्षिक रूपमा लिचीबाट मात्र एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ’, उहाँले भन्नुभयो, ‘यस आम्दानीले घर खर्च धान्न र केही बचत गर्न सकेको छु ।’
उहाँले थप्नुभयो, ‘बाहिरबाट ल्याइने फलफूलमा विषादीको मात्रा बढी पाइने भएकाले पनि ग्राहकहरू आफैँ बगैँचामै आउने गर्नुभएको छ । यसले हामी किसानले बजार खोज्न जान पनि परेको छैन र मूल्य पाएका छौँ ।’
रूपा जस्तै रामघाट–११ का किसान टेकबहादुर धमला पनि अचेल लिची टिप्नमा व्यस्त हुनुहुन्छ । पाँच रोपनी जमिनमा लिची खेती गर्दै आउनुभएका धमलाले यस वर्ष पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्ष कीरा लागेर लिची उत्पादन अघिल्ला वर्षहरूजस्तो धेरै भएन । तै पनि झण्डै एक लाख जति आम्दानी भयो ।’
धमलाका अनुसार लिची खेतीले राम्रो आम्दानी दिने देखिएको छ । उहाँले भन्नुभयो, ‘पानी, मल र समयमै हेरचाह गर्न सके राम्रो फलेर बजारमा राम्रै मूल्य पाइन्छ । अहिले त लिचीको माग पनि बढ्दो छ ।’
रामघाटमा सबै जसो घरमा दुई÷चार वटा लिचीका बोटहरू देख्न सकिन्छ । कतिपय किसानले भने लिचीलाई व्यावसायिक रूपमा विस्तार गर्न थालेका छन् ।
धमलाले थप्नुभयो, ‘अहिले गाउँका धेरै किसान लिचीखेती गर्न थालेका छन् । सुरुवाती लगानी धेरै नपर्ने र बजार सहज भएकाले लिची आकर्षक बन्दै गएको हो ।’ उहाँका अनुसार सरकारले मल, प्राविधिक सहयोग र बजार सुनिश्चित गरिदिए लिचीखेतीमा किसान आकर्षित भएका हुन् ।
हाल रामघाटका किसानहरू आफ्नै क्षेत्रका बजार, वीरेन्द्रनगर, नेपालगञ्ज र दाङमा लिची बिक्री गर्दै आइरहेका छन् । भेरीगङ्गा नगरपालिका कृषि विकास शाखाका प्रमुख सुरज विसीका अनुसार रामघाटको वडा नम्बर ११ र १३ लिची र आँप उत्पादनका मुख्य केन्द्र हुन् ।
उहाँले भन्नुभयो, ‘रामघाटको वडा नम्बर १२, ७ र ८ मा लिची उत्पादनका लागि वातावरणीय अवस्था उपयुक्त छ । यहाँको हावापानी र जमिनको बनावट फलफूल खेतीका लागि अनुकूल छ ।’
रामघाट क्षेत्रमा हाल फलफूलका विभिन्न जात व्यावसायिक रूपमा लगाइएका छन् । आँप २९.९ हेक्टर, सुन्तला ३.१ हेक्टर, केरा १६ हेक्टर, कागती ७.८ हेक्टर र लिची १३.५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । रामघाट क्षेत्रको झण्डै ८० प्रतिशत भूभाग वडा नम्बर ११ र १३ ले ओगटेको छ ।
कृषि विकास शाखाका प्रमुख बिसीका अनुसार भेरीगङ्गा नगरपालिकाले किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
उहाँले भन्नुभयो, ‘कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा आँप, लिची र कागतीका बोटबिरुवा वितरण गरिने कार्यक्रम यस वर्ष पनि सञ्चालनमा छ । फलफूल बगैँचा सुधार र क्षेत्र विस्तारलाई प्राथमिकता दिएका छौँ ।’
–रासस
प्रतिक्रिया दिनुहोस