गुल्मी/ सत्यवती गाउँपालिका–८ भार्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उहाँले किबीखेती गरेर वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुनुहुन्छ । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले आठ रोपनी जग्गामा किबीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा यलिसन, हेवार्ड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी ६ जातका किबीका बिरुवा छन् ।
जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष चार लाख रुपैयाँको किबी र दुई लाख रुपैयाँको किबीका बिरुवा बिक्री गरेको बताउनुभयो । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछी थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो ।
एउटै बोटमा ५० किलोदेखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । उहाँको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि आठ लाख रुपैयाँ खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ । यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ । त्यसैले यसैमा रमाएको छु ।’ किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँको भनाइ छ ।
थापाले भन्नुभयो, ‘वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु । त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ ।’
उहाँले उत्पादन गरेको किबी बजारमा दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उहाँले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गर्नुभएको छ ।
किबीलाई बजारको खासै समस्या नभएको थापाले बताउनुभयो । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई एक सय ५० देखि दुई सय रुपैयाँ पर्दछ ।
गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो ।
किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ ।
भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस