२५ असार २०८२ बुधबार | 09 Jul 2025 Wed

सबै स्थानीय तहका भेडापालकलाई गोठालो भत्ता



  • आफ्नै खबर
  • ४ असार २०८२ बुधबार (३ हप्ता अघि)
  • पाठक संख्या ७३
  • जुम्ला/  जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् ।

    भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत यहाँका करिब दुई सय ३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिनुभयो । 

    कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडा पालन व्यवसायमा थप टेवा पुगेको छ । जिल्लाको सिन्जा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले भन्नुभयो, ‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले एक सय भन्दाबढी भेडा रहेकाछन् । उक्त रकमले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको छ ।’

    कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब एक हजार सात सयभन्दा बढी भेडा किसान छन् । जहाँ ८८ हजार तीन सय ८८ भेडा र ४३ हजार तीन सय ६ बाख्रा पालिएका छन् ।

    जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।

    भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ । 
    कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ ।

    –रासस