काठमाडौँ/ मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो ।
इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घट्दै गएको बताउनुभयो । उहाँका अनुसार नेपाल–भारत सीमा कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् ।
उहाँका अनुसार अहिलेसम्म (पुस १७ गते यता) एक सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
सबैभन्दा बढी बागमती प्रदेशमा एक सय २९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बिनी प्रदेशमा समान तीन/तीन जनामा सङ्क्रमण देखिएको छ ।
एन्टिजेन पठाइयो
निर्देशक डा. झाले कोरोना भाइरसको सङ्क्रमण देखिएका ठाउँमा एन्टिजेन पठाइसकेको समेत जानकारी दिनुभयो । उहाँका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६ सय ४० थान एन्टिजेन पठाइसकेको छ । उहाँले सङ्क्रमणको जोखिमलाई ध्यान दिदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको बनाउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन् ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताउनुभयो ।
‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्’, उहाँले भन्नुभयो, ‘मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’ मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस