५ असार २०८२ बिहिबार | 19 Jun 2025 Thu

झोलुङ्गे पुल बनेपछि विद्यालय जान पाए बालबालिका



  • आफ्नै खबर
  • ५ असार २०८२ बिहिबार (७ घण्टा अघि)
  • पाठक संख्या २९
  • दाङ/  राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । 

    बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो । 

    कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन्, ‘खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ ।’ त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि वर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए । 

    विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब एक सय ९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताउनुभयो ।  

    अहिले त्यहाँ एक सय १२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको ४३ लाख ४८ हजार रुपैयाँ र राप्ती गाउँपालिकाको १८ लाख रुपैयाँ तथा स्थानीयको एक लाख २५ हजार रुपैयाँ बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

    -रासस