बागलुङ/ बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।
गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो ।
योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो । तर त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ । स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ । सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा काममा ढिलासुस्ती भएको हो ।
२०७२ सालमा सङ्घीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत नेपाल सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ । प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ । यहाँको झण्डै एक सय घरधुरीको घर घरमा धारा निर्माण भएपनि पहिले निर्माण भएको रिजर्भ ट्याङ्की र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन् ।
घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । सिसाखानीको बाघखोरमा रिजर्भ ट्याङ्की निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताउनुभयो । एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्याङ्की निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उहाँको भनाइ छ ।
अध्यक्ष पुनले भन्नुभयो, ‘यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ । आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख रुपैयाँ बजेट आउँछ । त्यो बजेटले अपुरो काम हुन्छ । बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन । राज्यको ध्यान नगएको महसुस भएको छ ।’
करिब ६० लाख रुपैयाँ बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुन बताउनुहुन्छ । ट्याङ्कीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी रहेको पुन बताउनुहुन्छ ।
वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिकले पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताउनुभयो । अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्याङ्कीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्याङ्कीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ ।
बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उहाँको भनाइ छ । खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्ती बताउनुहुन्छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताउनुभयो ।
आगामी वर्ष अर्को ट्याङ्की निर्माण गरेपछि हरेक घरमा पानी पु¥याउने उहाँको भनाइ छ । अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको अधिकारीले सुनाउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस