८ असार २०८२ आईतबार | 22 Jun 2025 Sun

पाँचखालमा खुल्यो ‘विषादीरहित तरकारी’ सङ्कलन केन्द्र



  • आफ्नै खबर
  • ८ असार २०८२ आईतबार (४ घण्टा अघि)
  • पाठक संख्या ४५
  • काभ्रेपलाञ्चोक/  खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी सङ्कलन गर्न लक्षित कृषि उपज सङ्कलन तथा बजार केन्द्र स्थापना गरिएको छ ।  रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।

    केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख पाँचखाल नगरपालिकाको नौ लाख रुपैयाँको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी सङ्कलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    खरेलले भन्नुभयो, ‘केन्द्रमा सङ्कलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्रान्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ ।’ अर्ग्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उहाँको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताउनुभयो । 

    केन्द्रको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सम्युक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताउनुभयो ।

    नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अर्ग्यानिक हुँदै गएको जनाइएको छ् ।

    केन्द्रमा १८ महिने आईपीएम कृषक पाठशालामा २२ थरिका आईपीएम प्रविधि अध्ययन गरेका एक हजार दुई सय अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी सङ्कलन हुने अपेक्षा गरिएको छ ।

    –रासस