कञ्चनपुर/ शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामकिसन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन् । तर, रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आउनु भएको छ ।
डेढ बिघा खेतमा उहाँले ‘चैते–५’ जातको धान रोप्नुभएको छ । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाउनुभएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन ।
‘चैते धान पाक्नै लागेको छ’, उहाँले भन्नुभयो, ‘एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ । वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन । उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।’
लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उहाँलाई छ ।
परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ । विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सन्जु उपाध्याय रिमालले बताउनुभयो ।
उहाँका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र एक सय २० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ ।
कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ ।
यस वर्ष कञ्चनपुरमा कूल दुई सय ६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ । चैते धानप्रति हेक्टर ४.६ मेट्रिकटन उत्पादन हुने गरेको छ ।
महाकाली सिँचाइको कमान्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ (पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबवेल) लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ ।
बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवर्द्धन गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको छ ।
जस अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ । त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ ।
जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन् । कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन् ।
उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ । चैते धानखेती गर्ने किसानलाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ ।
शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा बर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउनुहुन्छ ।
‘धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ’, उहाँले भन्नुभयो, ‘गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ । देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस