चितवन/ चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो ।
निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेदेखि बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनःसञ्चालनमा आएको थियो ।
उहाँका अनुसार वर्षाले बिगारेको सडक मर्मत सम्भार गरेर जिप सफारी खुला गरिन्छ । निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उहाँले बताउनुभयो । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ । त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीवनयापन सहज हुने उहाँले जानकारी दिनुभयो ।
वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रूख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाडी बढेर जङ्गली जनावरसमेत नदेखिने उहाँको भनाइ छ ।
निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् ।
-रासस
प्रतिक्रिया दिनुहोस