काठमाडौं/ घाम पावरलाई सन् २०२५ को कीलिङ कर्भ पुरस्कारबाट सम्मानित गरिएको छ । यो पुरस्कार विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरुलाई प्रदान गरिने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।
घाम पावरले ग्रामीण समुदायहरू र उद्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुर्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको जनाइएको छ ।
यो घोषणा केन्याको राजधानी नैरोबीमा आयोजना भएको टिइडी काउन्टडाउन समिटमा गरिएको उल्लेख छ । सम्मेलनमा विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरुको सहभागितामा जलवायु परिवर्तन विरुद्धका नवीन तथा क्रान्तिकारी विचारहरूको आदान–प्रदान गरिएको जनाइएको छ ।
घाम पावर उर्जा श्रेणीमा विजेता भोषित भएको र सौर्य उर्जामार्फत नेपालका सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुरभ तथा स्व्च्छ बिजुली पुर्याउने योजनाहरूलाई अझ विस्तार गर्नका लागि ५० हजार अमेरिकी डलर पुरस्कारस्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ ।
दुई हजार पाँच सय भन्दा बढी विश्वव्यापी आवेदनमध्येबाट छानिंदा घाम पावरले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरुसँग संयोजन गरी आवश्यक व्यक्तिहरूलाई स्वच्छ उर्जा पहुँच दिने नवीन मोडेलका कारण विशेष पहिचान बनाएको कम्पनीको दावी छ ।
हाल कम्पनीले चार हजार भन्दा बढी परियोजनाहरू पूरा गरिसकेको र व्यवसायहरूलाई मात्र नभइ खाद्य प्रणाली, स्वास्थ्य सेवा र जलवायु सहनशीलता बलियो बनाउन समेत योगदान पुर्याउँदै आएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस