दार्चुला/ प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गर्नुभएको छ ।
उहाँले जिल्लामा पहिलो पटक ‘ब्लड बैँक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अभियान सुरुआत गर्नुभएको छ । जिल्ला अस्पतालमा ब्लड बैँक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका विरामी समस्यामा पर्दै आएका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैँक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट सङ्कलन गरिएको पाँच लाख दुई हजार आठ सय ८१ रुपैयाँ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गर्नुभयो ।
जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैँक स्थापना गर्न रकम सङ्कलन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्वतस्फुर्त गरिएको छ । यो अभियानलाई निरन्तरता दिँदै ब्लड बैँक सञ्चालन भएको हेर्न चाहन्छौँ ।’
जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कस्यप)ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मकै यो पुण्य काम हो । छिट्टै जिल्लासभा हुँदैछ, प्रस्तावकै रूपमा लगेर यो अभियानलाई आफूले सक्ने सहयोग गर्न तयार छौँ ।’
महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैँक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैँक स्थापनार्थ बजेट खोज्छौँ । जिल्ला अस्पतालका लागि यो नभई नहुने थियो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकामा धन्यवाद दिँदै यो काम पूरा गराउने काम हामी गर्छौँ ।’
जिल्ला अस्पतालका डा. सञ्जीव श्रेष्ठले तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बैँक जरुरी भएको बताउनुभयो । स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि ब्लड बैँक आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उहाँले गुनासो पोख्नुभयो ।
यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैँक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैँकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘राम्रो ब्लड बैँक स्थापना गर्न बजेट सुनिश्चितता कहीँबाट भएको छैन । स्रोत भयो भने राम्रै बनाउनुपर्छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस