१० असार २०८२ मंगलबार | 24 Jun 2025 Tue

विदेश बिर्सेर स्वदेशमा उद्यम



  • आफ्नै खबर
  • १० असार २०८२ मंगलबार (६ घण्टा अघि)
  • पाठक संख्या ४९
  • भोजपुर/  यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर थालेको उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । कतिपय युवा भने विदेशबाट फर्केर पुनः सीप सिकेर पनि उद्यममा जोडिएका छन् ।

    विदेशबाट फर्केर स्वदेशमा सीप सिकेर जिल्लामा सफल उद्यमी बन्नुभएको छ, हरि मगर (बाजेन) । वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्कनुभएका मगरसँग हातेट्रयाक्टर मर्मत गर्ने सीप छ । यही सीप अहिले उहाँको जीवन धान्ने साधन बनेको छ ।

    जिल्लामा व्यावसायिक रूपमा कृषियन्त्र उपकरण बिक्री वितरणसँगै मर्मतमा लाग्नुभएका मगरलाई अहिले कामले भ्याइनभ्याई छ । पाँच वर्षअघिबाट ट्रयाक्टर बनाउने काममा लागेपछि पछाडि फर्केर हेर्नु नपरेको मगरको भनाइ छ । स्थायी घर धनकुटाको छथर जोरपाटी भएका मगर सुरुमा हातेट्रयाक्टर मर्मत गर्ने सोचले भोजपुर आएको बताउनुहुन्छ । 

    लामो समय विदेशमा बिताएपश्चात सीप सिकेर काममा लाग्नुभएका मगर अहिले सफल उद्यमीका रूपमा चिनिनुहुन्छ । सुरुमा हातेट्रयाक्टर मर्मतको सीप लिएर सानोतिनो काम गर्ने सोचले यो पेसामा लाग्नुभएका मगर अहिले उदाहरणीय उद्यमी बन्नुभएको छ । सीपले उद्यमीसँगै स्वरोजगार बनाएको मगरले बताउनुभयो ।

    ‘मैले विभिन्न देशमा गरी १० वर्ष बिताएँ’, मगरले भन्नुभयो, ‘विदेशबाट आएपछि मैले घरेलुमार्फत हातेट्रयाक्टर मर्मत गर्ने सीप लिने मौका पाएँ । सीप लिएपश्चात् गाउँघरमा पुगेर किसानको सेवा गर्ने लक्ष्यले म भोजपुर आएको थिएँ । तर त्यही सीपले अहिले स्वरोजगारसँगै उद्यमी बनायो ।’

    आफूले सञ्चालन गरिरहको उद्यमबाट अहिले अन्य तीन जनालाई रोजगारी दिएको उहाँले बताउनुभयो । गाउँघरमा हातेट्रयाक्टरले खेतबारी जोत्ने चलन बढेसँगै कामको चाप पनि बढेको छ । भोजपुर नगरपालिका–७ सातधारामुनि कृषि औजार उपकरण बिक्री पसल पनि सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ । 

    ट्रयाक्टर बिग्रिएर समस्या परेका किसानलाई खेतबारीमा नै पुगेर सेवा दिने गरेको मगरले बताउनुभयो । साथै सीप सिक्न चाहने किसानलाई निःशुल्क सिकाइदिने बताउँने मगरले हाल ६० लाख रुपैयाँ लगानीमा उद्यम सञ्चालन गरिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘मैले आफैँले सिकेको सीपबाट कमाएको पैसाले पसल पनि सञ्चालन गरिरहेको छु । साथीहरूको लहलहैमा लागेर विदेश गइयो । अहिले यहीँ सीप सिकेर विदेशको भन्दा राम्रो आम्दानी गरिरहेको छु । सीपले मानिसलाई सक्षम बनाउने रहेछ ।’

    यहाँबाट जिल्लाभरका किसानलाई आफूले जानेको सीप दिँदै आएको उहाँको भनाइ छ । घरेलु तथा साना उद्योग कार्यालय तथा स्थानीय तहले सञ्चालन गर्ने सीपमूलक तालिममा प्रशिक्षकका रूपमा काम गर्ने मौका पाउने मगरले बताउनुभयो । तालिममार्फत दुई सय बढी किसानलाई हातेट्रयाक्टर मर्मतको सीप दिइसकेको उहाँको भनाइ छ । 

    पछिल्लो समय गाउँघरमा गोरुले जोतेर खेती गर्ने चलन कम हुँदै आएको छ । कृषिजन्य यन्त्र उपकरणको प्रयोगले किसानलाई सहजता भए पनि सञ्चालन तथा मर्मतको ज्ञान नहुँदा भने किसानले समस्या भोग्दै आएका छन् ।

    –रासस