११ असार २०८२ बुधबार | 25 Jun 2025 Wed

हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया



  • आफ्नै खबर
  • १० असार २०८२ मंगलबार (११ घण्टा अघि)
  • पाठक संख्या ५२
  • कञ्चनपुर/  जिल्लामा हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो ।

    शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा सोमबार महाकाली प्रादेशिक अस्पतालले आयोजना गरेको हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविरमा २३ जनामा हाइड्रोसिलको समस्या देखा परेको छ । 

    अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्र रावलका अनुसार हाइड्रोसिलको समस्या देखा परेका २३ मध्ये १० जनामा जटिल प्रकृतिको समस्या देखा परेका छन् भने १३ जनामा सामान्य किसिमको हाइड्रोसिल देखिएको उहाँले बताउनुभयो । 

    ‘जटिल प्रकृतिको हाइड्रोसिलको समस्या देखा परेका १० जनाको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो, ‘शिविरमा पुगेका एक जना बालकको अण्डकोष जुन ठाउँमा हुनुपर्ने हो त्यो ठाउँमा नरहेको पाइएको छ । एक जना पुरुषको अण्डकोषमा मासु पलाएको पाइएको छ ।’

    के हो हाइड्रोसिल ?
    हाइड्रोसिल अण्डकोषको वरिपरि सुजन वा तरल पदार्थ जमेको अवस्थालाई भन्ने गरिएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हाइड्रोसिल शिशुमा जन्मअघि गर्भमा रहेकाबेला अण्डकोष पेटभित्रबाट तल झर्दा त्यसको वरिपरि पानी आउने नली खुला रहेको अवस्थामा हुन्छ ।

    डा. भट्टले भन्नुभयो, ‘जन्मपश्चात् पनि त्यो नली बन्द हुँदा पानी तल ओर्लिन्छ र अण्डकोषको वरिपरि जम्मा हुँदा हाइड्रोसिल हुन्छ । यस्तो अवस्थामा भएको समस्या एक/दुई वर्षमा आफैँ निको हुन्छ ।बढी उमेरका पुरुषमा अण्डकोषमा लागेको चोटका कारण पानी जम्मा हुँदा, अण्डकोष वा वरिपरि नलीमा सङ्क्रमण हुँदा, फाइलेरिया परजीवीका कारण लिम्फ प्रणाली पानी बन्द भएर, हर्निया वा अण्डकोषसम्बन्धी शल्यक्रिया पछि हाइड्रोसिल देखापर्ने गर्दछ । हाइड्रोसिलका बिरामीको परीक्षण स्वास्थ्य चौकीमा रहेको अल्ट्रासाउन्डबाट गरिन्छ ।’

    हाइड्रोसिलको समयमा उपचार नभएमा हात्तीपाइले हुनसक्ने भएकाले समयमा रोगको पहिचान र निदान गरिनुपर्ने डा. भट्टले सुझाव दिनुभयो । लामखुट्टेले सार्ने फाइलेरिया परजीवीको सङ्क्रमणबाट अधिकांशमा हाइड्रोसिलको समस्या देखा परेको स्क्रिनिङ शिविरमा सहभागी चिकित्सकले बताएका छन् । 

    ‘हाइड्रोसिल स्क्रिनिङ स्वास्थ्य प्रणालीको एक महत्त्वपूर्ण पक्ष हो, जसले फाइलेरियाजस्ता दीर्घकालीन रोगबाट हुने जटिलता नियन्त्रण गर्न सहयोग गर्छ’, चिकित्सक शिरिष अवस्थीले भन्नुभयो, ‘समयमा उपचार गर्न सकेमा पुरुषको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।’ 

    तीन दशकदेखि हाइड्रोसिलको समस्या झेल्दै आएका शुक्लाफाँटा नगरपालिका–३ का धनिराम चौधरीले चिकित्सकले शल्यक्रिया गरेपछि सञ्चो हुने आश्वासन पाएपछि खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘शिविरमा जाँचपश्चात् निःशुल्क रूपमा शल्यक्रियाका लागि सिफारिस गरिएको छ । वर्षौंदेखि खेप्दै आएको पीडाबाट अब मुक्ति पाउने भएको छु ।’

    यसअघि अस्पतालले बेलडाँडी गाउँपालिमा आयोजना गरेको स्क्रिनिङ शिविरमा जाँचका लागि पुगेका बिरामीमध्ये १० जनामा हाइड्रोसिलको समस्या देखिएको जनाएको थियो ।

    अस्पतालमा जाँच गराएका बिरामीमा हाइड्रोसिलको समस्या देखापरे निःशुल्क उपचार र शल्यक्रिया हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टले बताउनुभयो । कतिपयलाई अस्पतालमा हाइड्रोसिलको उपचार र शल्यक्रिया निःशुल्क हुनेबारे थाहा नहुने भएकाले शिविरमार्फत जानकारी पनि दिने गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    –रासस