१२ असार २०८२ बिहिबार | 26 Jun 2025 Thu

स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान



  • आफ्नै खबर
  • १२ असार २०८२ बिहिबार (७ घण्टा अघि)
  • पाठक संख्या ५२
  • पर्वत/  जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरेको छ । 

    चालु आर्थिक वर्ष विसं २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई/गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरु गरेका छन् ।  

    चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका तीन सय ६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरु पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिनुभयो ।

    प्रतिगाई दुई हजार र प्रतिहल गोरु आठ हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गर्न थालेको हो ।

    स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाभित्र गाई र हलगोरु पाल्ने कृषकको सङ्ख्या समेत बर्सेनि बढ्दै गएको छ । 

    व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिरालो र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उहाँले बताउनुभयो ।

    यो कार्यक्रममार्फत आगामी आव २०८२/८३ मा पनि १३ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । पछिल्लो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएपछि आव २०७९/८० देखि जलजलामा स्थानीय जातको गाई संरक्षण र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रमले निरन्तरता पाएको छ ।

    आगामी आवको बजेटमा पर्वतको पैंयू गाउँपालिकाले पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ । मिनिटिलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढावा दिन थालेका हुन् ।

    –रासस