पाल्पा/ ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक विद्यालय सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक विद्यालय सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।
लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा विद्यालय चलाइनेछ । आगामी आर्थिक वर्षदेखि विद्यालय चलाउने योजनाअनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।
अध्यक्ष रेग्मीले भन्नुभयो, ‘रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएको हुँदा ज्येष्ठ नागरिक पनि यहाँ आउन आतुर हुनुहुन्छ । नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ । नयाँ आर्थिक वर्षदेखि विद्यालय चल्नेछ । धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहँदा मन प्रफुल्ल हुनेछ ।’
रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक विद्यालयमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायतका आवश्यक सेवासुविधा नगरपालिकाले ब्यहोर्ने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
नगरप्रमुख थापाले भन्नुभयो, ‘बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घर–घरमा पुनः पुर्याइनेछ । यसको सबै प्रबन्ध नगरले गर्नेछ । ज्येष्ठ नागरिकलाई अबका दिन खुसीसँग बिताउन नगरले विद्यालय नै चलाउने तयारी गरिरहेको छ । विद्यालय सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले चाँडै सुरुआत गर्छाैँ ।’
स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो । स्कुलमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालको छ । रातिमा बसोबास गर्न इच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।
रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक विद्यालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिने समेटिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीको किनारमा रहेको रामघाटधाम रामतपोभूमि रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान् रामचन्द्रले बनोबास जाने क्रममा यहाँ आएर बसोबास गर्दा स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामकरण गरिएको हो ।
कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न यहाँ आउने गरेका छन् ।
समितिले २०७४ देखि १० वर्षे गुरुयोजना बनाएर क्रमिक रुपमा पर्यटकीय पूर्वाधार विकासका कामहरु गर्दै आइरहेको छ । रामनवमी, कृष्णजन्माष्टमीलगायतका विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुईजना पुजारी व्यवस्था गरिएको छ ।
पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत्, इन्टरनेट, पुरानो लक्ष्मीनारायण मन्दिर पुनःनिर्माण, पुरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, तीन सय जना अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, व्रतबन्ध मण्डप, प्रवेशद्वार, उद्यान, फलफूल बगैँचा, चौतारीलगायतका संरचना निर्माण गरिएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस