काठमाडौ/ नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले उपत्यकाका तीन ठाउँमा तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि असार १३ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।
काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा महोत्सवको उद्घाटन हुने छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्गानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजलेले जानकारी दिनुभयो ।
कार्यक्रमको आकर्षणका रूपमा १० भन्दाबढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दाबढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानभोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजलेले जानकारी दिनुभयो ।
यस्तै, २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेयपदार्थ सहकार्य गरेका रेस्टुरेन्टमा पाइनुका साथै सबै उमेरका सहभागीका लागि रमाइलो म्याङ्गो खेल र विविध गतिविधि सञ्चालन हुने उहाँले बताउनुभयो ।
तीनदिने महोत्सव लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सीखेलको वाटरिङ हलमा हुनेछ । तीनवटै रेस्टुरेन्टले महोत्सवलाई आकर्षक बनाउने गरी तयारी भइरहेको जनाएका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस