१४ असार २०८२ शनिबार | 28 Jun 2025 Sat

लोपोन्मुख वनकरियाको फेरिएको जीवनशैली



  • आफ्नै खबर
  • १३ असार २०८२ शुक्रबार (९ घण्टा अघि)
  • पाठक संख्या ५९
  • मकवानपुर/  मनहरी गाउँपालिकामा बसोबास गर्ने लोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।

    घरवरिपरी पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ । उहाँका दुई छोरा विद्यालय जान्छन् भने उहाँ पनि दिनभर साबुन बनाउनमा व्यस्त हुनुहन्छ । 

    प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहनुभएकी उहाँलाई उद्यमी बन्न ग्रिन फाउन्डेसन नेपाल नामक संस्थाले सिकाएको बताउनुहुन्छ । 

    ‘पहिला बोल्नसमेत डर लाग्थ्यो । आजकल आफ्नो उत्पादनको विज्ञापन गर्न सक्ने भएकी छु’, उहाँ भन्नुहुन्छ, ‘साबुन बनाउने तालिममात्र होइन कतिमा उत्पादन गर्ने, अनि कतिमा बिक्री गर्ने र कसरी प्रचार गर्नेसमेत तालिम दिएकाले सक्षम भएकी हुँ ।’

    उहाँको समूहमा २१ जनाले साबुन उत्पादन गरिरहेका छन् । आम्दानीसँगै जीवनशैली परिवर्तन भएको बताउँदै उहाँ अहिले वनको कन्दमूल रहरले खाने गरेको बताउनुहुन्छ ।

    त्यसैगरी ७० वर्षीय हस्तबहादुर वनकरिया हाल खेतीबाट ६ महिना खान पुग्ने र बाँकी समय अन्य कामसँगै साबुन व्यापारले राम्रो भएको बताउनुहुन्छ । कन्दमूल खोज्ने र माछा मारेर जीवन धान्ने गरेका उहाँ करिब २० वर्ष अगाडिबाट बस्तीमा बस्न थाल्नुभएको होभने हाल खेतीमा व्यस्त बन्ने गर्नुभएको छ ।

    त्यसैगरी माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेको बताउनुहुन्छ । साबुन उत्पादनले उहाँलाई जीवन धान्न सजिलो बनाइ दिएको छ ।

    बस्तीका महिलाले खोला किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जीवनयापन भएका उक्त जातिका लागि मसिने शान्ति सामुदायिक वन बफर्जोन क्षेत्रमा परिणत भएसँगै खेर गइरहेका तीतेपातीको प्रयोग गरेर उद्यमी बन्न प्रेरित भएका हुन् ।

    समस्या भने यथावत
    सन्तोषी वनकरियाले यो जाति भूमि पूजक भएर पनि जग्गाधनीपुर्जा नपाएकामा दुःख व्यक्त गर्दै सरकारले भूमिहीन बनाउन नमिल्ने बताउनुहुन्छ । २०६२ सालमा २० वर्षका लागि दिइएको कागजको समय २०८२ वैशाखमा सकिएको छ । हाल समय सकिएको जग्गामा बसिरहेको र उक्त जग्गामा अधिकार नभएको उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, ‘मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौँ न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ । व्यवसाय दर्ता गर्न नै नपाएपछि तीन महिना काम रोकियो । वडाध्यक्षले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो । सधैँ हामी यसरी नै कतिञ्जेल चल्ने ?’ अहिले चिन्ता भनेको जग्गामाथिको स्वामित्वमा रहेको छ ।

    त्यसैगरी, स्थानीय सङ्गीता वनकरियाले आफ्नो समुदायका लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ताभन्दा बढी हुने उहाँले बताउनुभयो । 

    उहाँ भन्नुहुन्छ, ‘सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निःशुल्क पढाइदिएको भनिन्छ । तर, हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले शुल्क बुझाइरहेका छौँ । यसका लागि हामीले कसलाई भन्नुपर्ने हो ?’

    उहाँले राज्यले दिने भनेको निःशुल्क शिक्षासमेत नपाएकामा दुःख व्यक्त गर्नुभयो । उहाँलाई पनि सन्तोषीलाई जस्तै जग्गाको चिन्ता छ ।

    वनकरिया जाति मकवानपुरमा मात्र बसोबास गर्ने लोपोन्मुख जाति हो । वनकरियाहरू मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रा खोला नजिकै सानो बस्तीमा केही दशकअघिदेखि मात्र घर बनाएर बस्न थालेका हुन् । त्यो बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ ।

    गाउँमा बस्नुअघि उनीहरू चुरे जङ्गलमा बस्थे भने हाल २१ घरधुरीमा ८३ जनाको सङ्ख्यामा वनकरिया रहेको छ । केही दशक कपअघिसम्म चुरे जङ्गलमै बसेर कन्दमूल खोजेर, माछा मारेर र वन्यजन्तुको सिकार गरेर जीविका चलाउने वनकरियाहरूको जीवनशैली फेरिएको छ ।

    पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता दिन थालेपछी यिनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा भने छैन ।

    अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालदेखि यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । उनिहरुले बसोबास गरेकै स्थानमा सामूहिक रुपमा लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

    नेपालका लोपोन्मुख १० जातिमध्ये ‘वनकरिया’ एक हो । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो ।

    –रासस