१४ असार २०८२ शनिबार | 28 Jun 2025 Sat

मुग्लिन पोखरा सडक : पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली



  • आफ्नै खबर
  • १३ असार २०८२ शुक्रबार (८ घण्टा अघि)
  • पाठक संख्या ४५
  • तनहुँ/  मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । 

    कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रुपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र सकिएको छ । मुख्य काम सकिएको खुसियालीमा निर्माण कम्पनीले अनौपचारिक हिसाबले कार्यक्रम गरेको हो ।’

    पाण्डेका अनुसार पूर्वी खण्डमा अब स–साना काम मात्रै बाँकी छ । ४१.५ किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम पनि भइरहेका छन् । सम्झौता भएको तीन वर्ष र पछिल्लो चार सय ५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उहाँको भनाइ छ । यो खण्डको अन्तिम म्याद असार २९ गतेसम्म रहेको छ । 

    पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको थियो ।

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा लागेको थियो । 

    –रासस