१४ असार २०८२ शनिबार | 28 Jun 2025 Sat

जापानको नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा



  • आफ्नै खबर
  • १४ असार २०८२ शनिबार (५ घण्टा अघि)
  • पाठक संख्या ६२
  • काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

    उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये ६ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    विद्यालयबाट उक्त परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ ।

    मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका पााच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा विद्यालयबाट एक सय १३ जनाले एसइई उर्तीण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताउनुभयो ।

    जापानमा रहेका नेपाली समुदायको पहलमा उक्त विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ ।

    एभरेष्ट स्कूलले टोकियो कै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापनक भट्टले जानकारी दिनुभयो ।

    –रासस