१५ असार २०८२ आईतबार | 29 Jun 2025 Sun

वातावरण परिवर्तनले खेती गर्ने समय पनि फेरियो



  • आफ्नै खबर
  • १५ असार २०८२ आईतबार (५ घण्टा अघि)
  • पाठक संख्या २५
  • मनाङ/  मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो । तर, फरक वातावरणले गर्दा अहिले माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यान्नमा आत्मनिर्भर बनेको छ ।

    किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ । 

    दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली हराउन थाले पनि यतिबेला कहीँ खेती भित्र्याउने त कहीँ लगाउने समय भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिनुभयो । यसलाई सुहाउँदो वातावरणको अभावले पनि खेतीबाली फेरिन थालेका उहाँको भनाइ छ । 

    करु, गहुँ, आलुलगायत खेती भित्र्याउन किसान व्यस्त छन् । यहाँ जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ । यसका साथै परम्परागत बालीको उत्पादनमा ह्रास आउन थालेपछी विकासे (हाइब्रिड) खेतिपातीतिर किसान आकिर्षत हुन थालेको पाइन्छ ।

    तर, परम्परागत बालीको उत्पादकत्वका आधारमा किसान सचेत हुँदै कृषिमा आकर्षित भएका पाइन्छ । विगत चार वर्षको तथ्याङ्क हेर्ने होभने अन्य परम्परागत बालीको तुलनामा स्थानीय प्रजातिको आलुखेतीमा वृद्धि भएको पाइन्छ । कोभिड तथा बाढीपहिरोको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

    मनाङको तल्लो भेगमा मकै, आलु, करु, गहुँ, जाँ, फापर, कोलु बोडीलगायतको खेती गरिन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मुला, गाँजरलगायत तरकारी यहीँ उत्पादन हुन्छ । प्रमुख रेग्मीले भन्नुभयो, ‘यहाँ उत्पादित खाद्यवस्तु जिल्लामा नै खपत हुन्छ, यहाँ चामल, कोदोबाहेक अन्य खेती गरिन्छ र खपत पनि यहीँ हुन्छ ।’

    यहाँ उत्पादित वस्तुले बजार नपाउला भन्ने समस्या नरहेको उहाँको भनाइ छ । हिमाली जिल्ला  भएकाले यहाँ जलवायु परिवर्तनको असर यहाँका स्थानीयले भोगिरहेको उहाँले बताउनुभयो ।
    ‘हिउँको भरमा सिँचाइ हुने यस क्षेत्रमा हिउँ पर्न छाडेको छ, कहिलेकहीँ बेसिजनमा हिउँ पर्छ’, उहाँले भन्नुभयो, ‘यसको असर प्रत्यक्ष खेतीपातीमा पर्न गएको छ । सिँचाइको अभावले खेती परिवर्तन हुने अवस्था सृजना हुने त्रास छ ।’

    जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ । परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ । उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेको पाइएको छ । 

    कार्यालयको तथ्याङ्कका आधारमा उत्पादन कम हुने हुँदा परम्परागत बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार परम्परागत खेतीतर्फ किसान आकर्षित छन् । उत्पादन यहीँ खपत हुन्छ ।

    तर, व्यवसाय परिवर्तनले प्रभाव पारेको छ । विगतमा हुने गरेका खेतीलाई उत्पादन वृद्धि गरी बजारीकरण अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने गरी तीनै तहको ध्यानाकर्षण हुन आवश्यक छ ।

    –रासस