तनहुँ/ घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् ।
नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको जीवनशैली परिवर्तन भएको छ । २०७६ सालमा स्थापना भएको ग्रीनहिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ ।
घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ ।
ग्रीनहिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्नुहुन्छ, ‘यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ ।’
घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेको उहाँ बताउनुहुन्छ । पुलामी भन्नुहुन्छ, ‘हालसम्म यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ ।’
उहाँ थप्नुहुन्छ, ‘हामीले पहिलापहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौँ । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ ।’
६ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ ।’
चितीखोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकैपटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ । घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन् ।
घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउनेलगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादीरहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैँले मात्र खान धेरै भएर आफन्त र छरछिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ ।’
होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताउनुभयो ।
‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ’, उहाँले भन्नुभयो, ‘गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आयस्तर बढाउन पाएपछि यहीँबाट बसाइँसराइ जाने कुरा नै भएन ।’
‘ग्रीनहिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ । साथै, यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ’, मगरले भन्नुभयो, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन् । यसले हामीलाई थप ऊर्जा मिलेको छ । त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्नेगरी सेवा दिँदै आएका छौँ ।’
होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । हालसम्म करिब दुई हजार पाँच सय पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ ।’
घरबासमा एक रात बास बस्नुभएका सिएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आतिथ्यताले अपनत्व महसुस हुने बताउनुभयो । ‘यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ । यहाँको अधिकांश खानेकुरा नै अग्र्यानिक पायौँ’, उहाँले भन्नुभयो, ‘साँच्चै अग्र्यानिक खाना खान फेरि आउने धोको छ ।’
घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ ।
यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जङ्गलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् ।
यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । पृथ्वी राजमार्गअन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे–बेँसीसहर–चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ ।
–रासस
प्रतिक्रिया दिनुहोस